देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहँदा तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म तराई क्षेत्रमा कुहिरोको प्रभाव कायमै रहने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार हाल तराईका धेरै स्थानमा कुहिरो लागेको छ, जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको छ । विशेषगरी बिहान र रातिको समयमा पारदर्शिता कम हुने भएकाले सवारी चालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
बुधबार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा मध्यान्हसम्म कुहिरो रहने सम्भावना छ भने बाँकी तराई क्षेत्रमा दिनभर हुस्सु लाग्न सक्ने पूर्वानुमान गरिएको छ । पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
बिहीबार र शुक्रबार (भाेली र पर्सि) पनि तराईका भू–भागमा हुस्सु तथा कुहिरोको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ । यस अवधिमा गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा रहने अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले कुहिरोका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण, यातायात व्यवसायी र सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।