उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज किरण वि.क.ले पार्टी संगठन विस्तारसँगै चुनावी अभियानमा सक्रिय भइसकेको बताउनु भएकाे छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई सँगसँगै अगाडि बढाइएको स्पष्ट पार्नुभयाे ।
केन्द्रीय सदस्य वि.क.ले ऊर्जा क्षेत्रका अभियन्ता कुलमान घिसिङ हालसम्म पार्टीको कुनै औपचारिक जिम्मेवारीमा नरहेको स्पष्ट गर्दै घिसिङ पार्टीका लागि प्रेरणास्रोत रहेको बताउनु भयाे । यही पुस महिनाभित्र रूपन्देहीमा कुलमान घिसिङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी गराउनु भयाे ।
उज्यालो नेपाल पार्टीले लुम्बिनी प्रदेशमा संगठन निर्माणको काम तीव्र गतिमा अघि बढाएको जनाउँदै वि.क.ले रूपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा पुगेर पार्टीप्रति नागरिकहरूको अपेक्षा र सुझाव संकलन गरिएको उल्लेख गर्नुभयाे । पार्टीले रूपन्देहीमा कार्यसमिति गठन गरिसकेको र प्रदेशका अन्य जिल्लाहरूमा पनि केही दिनभित्रै कार्यसमिति गठन गर्ने तयारी भइरहेको बताउँदै पार्टीमा सबैलाई समेट्न सहज होस् भनेर प्रदेश कार्यसमिति गठनमा केही ढिलाइ भएकाे उहाँले बताउनु भयाे ।
एक प्रसंगमा बोल्दै केन्द्रीय सदस्य वि.क.ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकता नभए पनि आगामी निर्वाचनमा गठबन्धनको सम्भावना रहेको उल्लेख गर्नुभयाे । साथै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सबै वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याएर एउटै पार्टीमा आवद्ध हुने तयारी गरिरहेको दाबी गर्नुभयाे ।
आगामी निर्वाचनमा आफू रुपन्देहीबाटै उम्मेदवारी दिने तयारीमा रहेको जनाउँदै वि.क.ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २, ३ वा ५ मध्ये कुनै एक क्षेत्रबाट निर्वाचन लड्ने योजना रहेको जानकारी गराउनु भयाे ।