वातावरणको दिगो सरसफाइ सुनिश्चित गर्न व्यक्तिको व्यवहारमा परिवर्तन आवश्यक रहेको निष्कर्ष एक कार्यक्रममा औँल्याइएको छ । पर्यावरण संरक्षण समाज नेपालद्वारा आयोजित तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न दिगो सरसफाइ व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रममा सरसफाइको जिम्मेवारी सरकार वा स्थानीय तह मात्र नभई स्वयं नागरिकको पनि हुनेमा जोड दिइयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सरसफाइकर्मी नगरका प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै नगर सधैँ उनीहरूको सम्मान र सुरक्षाप्रति प्रतिबद्ध रहेको बताउनुभयो । सरसफाइकर्मीहरूको निरन्तर उपस्थितिकै कारण नगरलाई सफा राख्न सफल भएको उहाँको भनाइ थियो ।
उपप्रमुख सावित्रा देवी अर्यालले विगतको तुलनामा नगर केही हदसम्म सफा भएको दाबी गर्दै अझ प्रभावकारी सरसफाइ व्यवस्थापनका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका सरसफाइकर्मीहरूको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा सरसफाइका क्रममा थुप्रै व्यवहारिक समस्या झेल्नुपरेको उनीहरूले गुनासो गरेका छन् । सरसफाइकर्मीहरूका अनुसार आवश्यक सामग्रीको अभाव, नागरिकद्वारा ‘पैसा तिरेका छौँ’ भन्ने मानसिकतासहित फोहर जथाभावी फाल्ने प्रवृत्ति सरसफाइमा मुख्य चुनौती बनेको छ । कार्यक्रममा वातावरण संरक्षण र सरसफाइका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा समेत जोड दिइयो ।
कार्यक्रमका प्रशिक्षक, पर्यावरण साहित्यकार तथा वातावरणविद् विजय हिताङले सरसफाइको सुरुआत घर–घरबाटै हुनुपर्ने बताउँदै सबैभन्दा पहिले फोहर जथाभावी नफाल्न आग्रह गर्नुभयो । उहाँले वातावरण संरक्षणका लागि हरेक व्यक्तिले साना–साना कुरामा ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै सरसफाइका क्रममा देखिने समस्याहरू क्रमशः समाधान गर्दै जानुपर्ने धारणा राख्नुभयो । सबै नागरिक जिम्मेवार र इमानदार बनेमा मात्र स्वच्छ र सफा नगर निर्माण सम्भव हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्याल, योजना शाखा प्रमुख ठगिश्वर पोखरेल तथा सरसफाइकर्मीहरूले आ–आफ्ना धारणा राखेका थिए । नगरका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष गणेश घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गंगा पोखरेलले सरसफाइका क्रममा सरसफाइकर्मीहरू स्वयं पनि सुरक्षित र चनाखो हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष अर्जुन ज्ञवालीले गर्नुभएको थियो ।