लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा पहुँचसँगै गुणस्तर अनिवार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
बुटवलमा आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सारुले गुणस्तरीय स्वास्थ्य सेवा भएमा मात्र नागरिकको जीवन रक्षा सम्भव हुने बताउनुभयो । उहाँले नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गर्नुभयो ।
मन्त्री सारुले रुपन्देही जिल्लालाई स्वास्थ्य पर्यटन (हेल्थ टुरिजम) को सम्भावनायुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्नुभयो । जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाको प्रभावका कारण धेरै नागरिक लाभान्वित भएको र अब रुपन्देही स्वास्थ्यको ‘हब’ बन्दै गएको उहाँको भनाइ थियो ।
बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्य चालु आर्थिक वर्षमा ४५ प्रतिशत सम्पन्न हुने जानकारी दिँदै मन्त्री सारुले अस्पतालमा सुरु हुने विशिष्टकृत र गुणस्तरीय सेवाले रुपन्देहीलाई स्वास्थ्य क्षेत्रको केन्द्र बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पताल निर्माणका लागि चालु वर्षमा १ अर्ब ६ करोड रुपैयाँ बजेट व्यवस्थापन भइसकेको र तोकिएको समयमै निर्माण सम्पन्न हुने बताउनुभयो ।
स्वास्थ्य सेवा प्रदायक संस्थालाई मन्त्रालयको तर्फबाट अपेक्षित सहयोग गर्न नसकिएको स्वीकार गर्दै मन्त्री सारुले आगामी वर्षको बजेटबाट सेवा प्रदायक स्वास्थ्य संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिए पनि पर्याप्त बजेट नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । त्यस्तै पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन राज्यको लगानी अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मुटु अस्पतालका लागि आवश्यक जग्गा बुटवलभित्रै खोजिनुपर्ने बताउँदै अस्पताललाई बुटवल बाहिर जान नदिने उपमहानगरको चाहना रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा उपप्रमुख सावित्रा अर्याल, रोटरी ३२८२ नेपाल–भुटानका अध्यक्ष राजेन्द्र ध्वजु, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष एजाज आलमले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अस्पताल स्थापनाको १२ वर्षमा ४ लाख १६ हजारभन्दा बढी सेवाग्राहीले ओपिडी सेवा लिएको जानकारी दिनुभयो । उहाँले अस्पताल भवन निर्माणका लागि पहल भइरहे पनि अझै सार्थक परिणाम आउन नसकेको बताउनुभयो ।
अस्पतालका निर्देशक डा. समिर गौतमले अव्यवस्थित खानपान र लापरबाहीका कारण मुटुरोगीको संख्या बढ्दै गएको उल्लेख गर्दै सबैलाई नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा दशक सम्मानअन्तर्गत मोहन बेल्बासे र दीपक कुमारी चौधरी थारुलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै निरज राना, हरियामा थापा, कृष कार्की, पुष्पा घिमिरे, डा. दीपक शर्मा, विष्णुबहादुर सारु, अर्जुन केवट र प्रेम आलेलाई उत्कृष्ट कर्मचारीका रूपमा नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बाबुराम बोहोराले गर्नुभएको थियो ।