अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा द आर्ट अफ लिभिङ नेपालले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा योग प्रशिक्षण शिविर गरेको छ । १२ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा द आर्ट अफ लिभिङ नेपाल रुपन्देही शाखाले ‘दीर्घायुका लागि योग’ भन्ने नारासहित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा योग प्रशिक्षण शिविर गरेको हो ।
योग प्रशिक्षण शिविरको उद्घाटन गर्दै नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भुपेन्द्रबहादुर खत्रीले स्वस्थ्य जीवनका लागि योग अपरिहार्य रहेको बताए । उनले योगले मानिसलाई स्वास्थ्यसंगै स्फूर्ती समेत बढाउने भएकाले हरेक दिन योग अभ्यासमा जोड दिए ।
विश्वव्यापी रूपमा मानव मूल्य, शान्ति र तनावमुक्त जीवन प्रवद्र्धनका लागि द आर्ट अफ लिभिङले काम गर्दै आएको र रुपन्देहीमा सुरुवाती समयदेखि नै योग दिवसमा योग अभ्यासका लागि प्रशिक्षण शिविर सञ्चालन गर्दै आएको द आर्ट अर्फ लिभिङ रुपन्देहीका जिल्ला समन्वय समिति संयोजक उज्ज्वलप्रसाद कसजूले बतए । यसले श्वास–प्रश्वासका विशेष विधि, ध्यान, योग, जीवन–कौशल र सेवा कार्यमार्फत मानिसलाई शारीरिक र मानसिक रूपमा सक्षम बनाउने पनि उनले बताए ।
उनका अनुसार योग शरीर, मन र आत्माबीच सन्तुलन स्थापित गर्ने प्राचीन विज्ञान हो, योगमा आसन, प्राणायाम, ध्यान र अनुशासित जीवनशैली समावेश हुन्छ । त्यस अवसरमा योग प्रशिक्षकहरु रेशम पाण्डे, भारती जोशी र कृष्ण केसीले योग प्रशिक्षण सहित योग अभ्यास गराएका थिए ।
नेपाल सरकारले संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनमा विश्व योग दिवस मनाउने २०७३ जेठ २६ मा निर्णय गरेको थियो । सोही अनुसार नेपालमा पनि प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउन थालिएको हो ।