पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल–रुपन्देहीको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको उम्मेदवारी दर्ता प्रक्रियामा सबै पदमा उम्मेदवार निर्विरोध भएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार पुस १० गते बिहीबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । निर्वाचन समितिका अनुसार पदाधिकारी, जिल्ला संयोजक, कार्यसमिति सदस्य तथा लेखा समिति गरी विभिन्न पदमा जम्मा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन समितिका संयोजक खिमानन्द भट्टराईका अनुसार अध्यक्षमा हिमाल गैरे, वरिष्ठ उपाध्यक्षमा हरिराम कसौधन, प्रथम उपाध्यक्षमा रजनिशराज आचार्य, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल, महासचिवमा डाँसिराम अधिकारी, कोषाध्यक्षमा विशाल गैरे, सचिवमा लोकप्रसाद भुसाल, सह–कोषाध्यक्षमा अभिषेक भारी तथा सह–सचिवमा घनश्याम कान्दुको उम्मेदवारी दर्ता भएको छ ।
एशोसिएसनको नौ जिल्ला कार्यक्षेत्रअनुसार रुपन्देही संयोजकमा सुनिल थापा, कपिलवस्तु संयोजकमा मोहम्मद अस्लम खान, नवलपरासी संयोजकमा राजेश कुमार गुप्ता, पाल्पा–स्याङ्जा संयोजकमा ज्ञानप्रसाद भट्टराई तथा गुल्मी, अर्घाखाँची, रुकुम पूर्व र बाग्लुङ संयोजकमा डिलाराम न्यौपाने निर्विरोध चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा दिनेश कुमार कसौधन, सुखराम बर्मा सोनार, विजय कुमार जैसवाल, भरत जंग कुँवर, दुर्गाप्रसाद चापागाईं, टंकप्रसाद न्यौपाने, तिलकमणि अधिकारी, नवराज भट्टराई र कम्पोटर पासी तथा लेखा समिति संयोजकमा बृजेन्द्र कुमार कसौधन र सदस्यमा चुडामणि न्यौपाने र विजय कुमार बानियाको उम्मेदवारी दर्ता भएको छ ।
सबै पदमा निर्विरोध भए पनि निर्वाचन कार्यतालिकाअनुसार पुस १२ गते हुने निर्वाचन कार्यक्रममा निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा गरिने एशोसिएसनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले जानकारी दिनुभयो ।
संस्थामा उम्मेदवारका आकांक्षी धेरै भए पनि एशोसिएसनलाई सुदृढ बनाउँदै व्यवसायिक हकहितका लागि एकताबद्ध भएर अघि बढ्ने आवश्यकतालाई मध्यनजर गर्दै सर्वसम्मत नेतृत्व चयन गरिएको अध्यक्ष हिमाल गैरेले बताउनुभयो । उहाँका अनुसार यस प्रक्रियामा प्रदेश संयोजक प्रेम न्यौपाने, वरिष्ठ उपाध्यक्ष योगेन्द्र गुप्ता, केन्द्रीय सदस्यहरू राजु न्यौपाने र दीपक भट्टराई तथा सल्लाहकार चक्रमणि आचार्यको विशेष भूमिका रहेको थियो ।