भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद : सहकार्य गर्ने प्रतिवद्धता

1.3K

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद : सहकार्य गर्ने प्रतिवद्धता

भारतको उत्तर प्रदेशस्थित गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको उद्योगीहरूको टोलीले बुटवलमा सञ्चालन भइरहेको प्रदर्शनीको अवलोकन गर्दै नेपाली उद्योगीहरूसँग अन्तरसंवाद गरेको छ ।
प्रदर्शनीको तयारीका क्रममा उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीको नेतृत्वमा संघको टोलीले भारतको उत्तर प्रदेशका विभिन्न शहरमा रहेका औद्योगिक क्षेत्रका संस्थालाई भ्रमणका लागि निमन्त्रणा गरेको थियो । सोही क्रममा यसअघि गोरखपुर औद्योगिक क्षेत्रका उद्योगीहरूको टोलीले पनि प्रदर्शनीको अवलोकन गरिसकेको छ ।
बिहीबार गीडा औद्योगिक क्षेत्रका उद्योगीहरूको टोलीलाई प्रदर्शनीको अवलोकन गराइँदै दुवै क्षेत्रका उद्योगी–व्यवसायीबीच सहज बजार व्यवस्थापन, उद्योग विस्तार र आपसी सहकार्यका विषयमा अन्तरक्रिया गरिएको प्रदर्शनीका प्रचार संयोजक ई. किरण खरेलले जानकारी दिनुभयो ।
बिहीबार प्रदर्शनीमा देखिएको ठूलो उत्साहले भ्रमणमा आएका भारतीय उद्योगीहरू उत्साहित भएको र नेपालमा उद्योगसँगै पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको संघका कार्यसमिति सदस्य अखिलेश कसौधनले बताउनुभयो ।
गीडा औद्योगिक क्षेत्रको टोलीको नेतृत्व गर्दै आएका उपाध्यक्ष प्रविण मोदीले आफूले सोचेभन्दा धेरै उत्साह नेपाली उद्योगी तथा अवलोककर्तामा देखिएको बताउनुभयो ।
“भारतमा रहँदा केही नेपाली साथीहरूसँग मात्र छलफल भएको थियो, तर एउटै प्रदर्शनीमा यति ठूलो सहभागिता देख्दा नेपालमा उद्योग र पर्यटनको ठूलो सम्भावना रहेको महसुस गर्यौं । अब दुवै देशका उद्योगीबीच सहकार्यका धेरै आधारहरू देखिएका छन्,” उहाँले भन्नुभयो ।