लुम्बिनी प्रदेशस्तरीय चौथो संस्करणको आशिष कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आशिष स्टेशनरी तथा आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टरको आयोजनामा भएको प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा नगरप्रमुख खाणले खेलकुद विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै उमेर समूहका लागि खेलकुद आवश्यक रहेको बताउनुभयो । उहाँले स्वस्थ जीवनशैलीको आधार खेलकुद भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका खेलकुद विकास समितिका संयोजक लोक पुन, पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, इगनास इन्टरप्राइजेजका प्रोप्राइटर राजु बास्तोला, आशिष प्रतिष्ठानकी अभिभावक मिना श्रेष्ठ, आशिष प्रतिष्ठानका म्यानेजिङ डाइरेक्टर आशिषकृष्ण श्रेष्ठ तथा आशिष क्लोथका सञ्चालक सुनिरा श्रेष्ठले सबै क्षेत्रको सहकार्यबाट खेलकुद गतिविधि अघि बढ्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
यसैबीच, तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाइन ब्याडमिन्टन कोर्टमा सम्पन्न उद्घाटन भेट्रान्स खेलमा हेमन्त थापा र भवानी चौधरीको जोडी विजयी भएको छ ।
प्रतियोगिता मेन्स सिङ्गल, मेन्स डबल्स, भेट्रान्स (४५ वर्ष माथि) र सुपर भेट्रान्स (५५ वर्ष माथि) गरी चार इभेन्टमा सञ्चालन हुने आशिष स्पोर्ट्सका म्यानेजिङ डाइरेक्टर आयुसकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । युवादेखि भेट्रान्स उमेर समूहलाई समेटेर प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
पुरस्कारतर्फ मेन्स सिङ्गलमा प्रथम हुनेले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मेन्स डबल्समा प्रथम टोलीलाई ३५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै, भेट्रान्स (४५ वर्ष माथि) तर्फ प्रथमलाई २२ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ तथा सुपर भेट्रान्स (५५ वर्ष माथि) तर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई ८ हजार र तृतीयलाई ५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा पाँच जना उदयमान खेलाडी, उत्कृष्ट भेट्रान्स तथा उत्कृष्ट युवा खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने एम्पायर अर्जुन कार्कीले जानकारी दिनुभयो । दर्ता शुल्क मेन्स सिङ्गलमा १ हजार ५ सय, डबल्समा २ हजार ५ सय, भेट्रान्समा २ हजार २ सय ५० र सुपर भेट्रान्समा २ हजार रुपैयाँ तोकिएको छ ।
प्रत्येक सहभागी खेलाडीलाई टिसर्ट र मायाको चिनो प्रदान गरिने तथा अन्तिम आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने व्यवस्था गरिएको छ । पुस १०, ११ र १२ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १५० भन्दा बढी टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।