बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली चक्रवातीय आँधीमा परिणत हुने क्रममा रहेकाले आगामी बुधबारदेखि नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार राति पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गरि बंगालको खाडीको दक्षिणपूर्वी क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै चक्रवातीय आँधीमा परिणत हुने क्रममा रहेकाे जानकारी गराएकाे छ ।
महाशाखाका अनुसार उक्त प्रणाली कात्तिक १० गते सोमबारसम्म चक्रवातीय आँधीमा विकसित भई भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशातर्फ अघि बढ्ने सम्भावना छ ।
यसको प्रभावले कात्तिक १२ देखि १५ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने अनुमान छ । तर वर्षाको मात्रा र जोखिमबारे अहिले नै यकिन भइनसकेको महाशाखाले जनाएको छ ।
सम्भावित मौसम परिवर्तनबाट कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।