नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् । खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
प्रतियोगितामा अघिल्ला संस्करणकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी र सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा लिग चरणपछि इलिमिनेटर र क्वालिफायरका खेल हुनेछन् । फाइनल मंसिर ५ गते हुनेछ ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार यस संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । अघिल्लो संस्करणको विजेता लुम्बिनीले एक करोड १० लाख रुपैयाँ पाएको थियो ।
यस संस्करणमा विभिन्न देशका चर्चित खेलाडीको सहभागिता रहनेछ । अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् । वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंकाले विराटनगर किङ्सबाट खेल्नेछन् । सेरफान रदरफोर्ड र फाबियन एलेन सुदूरपश्चिम रोयल्समा आबद्ध छन् ।
पोखरा एभेन्जर्समा बंगलादेशका सकिब अल हसन, मोहम्मद सैफुद्दिन र महेदी हसन आबद्ध छन् । कर्णाली याक्समा दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका हुसेन तलात र शाहबजाद फरहान तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली छन् । लुम्बिनीमा बंगलादेशका अलराउन्डर सामी हुसेन आबद्ध छन् ।
यसैगरी पाकिस्तानका मोहम्मद नवाज, हैदर अली, उस्मान मिर, हसन अली र इफ्तिखार अहमद, इंग्ल्यान्डका मोइन अली तथा जिम्बाबेका सिकन्दर राजा लगायतका खेलाडीको सहभागिता रहनेछ ।
एनपीएलको यस संस्करणमा नेपालमै पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिनेछ । मैदानका अम्पायरको निर्णयमा असहमति हुँदा टोलीले रिभ्यु लिन सक्नेछन् ।
डीआरएसको सहायताले एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णय पुनरावलोकन गर्न सकिनेछ। छक्काको दूरी र उचाइ मापनमा समेत प्रविधिकाे प्रयोग गरिनेछ । प्रतियोगिताको नियमअनुसार प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यु लिन पाउनेछ ।