राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच राजनीतिक एकता गर्ने सम्बन्धमा ७ बुँदे सम्झौता भएको छ । आइतबार बिहान दुई पक्षबीच भएको उक्त सम्झौतामा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले हस्ताक्षर गर्नुभएकाे छ ।
सम्झौताअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेले गर्नु हुनेछ भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिनेछ । पार्टीको चुनाव चिन्ह साविककै ‘घण्टी’ रहने सहमति भएको छ ।
सम्झौतापत्रमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका जायज मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ । समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य प्राप्त गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित स्पष्ट मार्गचित्र कार्यान्वयनमा प्रतिबद्ध हुने उल्लेख छ ।
एकतापछि स्थापित राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको आकृति रहने, चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति गरिएको छ ।
पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख गरिएको छ । संगठनात्मक संरचनालाई थप सशक्त बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिइने बताइएको छ ।
यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने र लोकतान्त्रिक सुशासन, समुन्नति तथा सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गरिने सम्झौतामा उल्लेख छ ।