पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभामा सहभागी पेट्रोलियम व्यवसायीहरूले सुरक्षा निकायलाई इन्धनको व्यापार गर्न दिनु व्यवहारिक नभएको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्ने व्यवसायीहरूले निजी क्षेत्रप्रति सरकार उदासीन बन्दै गएको आरोप लगाउँदै देशभर करिब १७ सयभन्दा बढी पेट्रोल पम्पहरू विभिन्न समस्याका कारण संकटमा परेको बताए । नीतिगत अस्पष्टता, सरकारी हस्तक्षेप र प्रतिस्पर्धात्मक वातावरण नहुनुले दिनप्रतिदिन पेट्रोलियम व्यवसायीहरू व्यवसाय छाड्न बाध्य भइरहेको उनीहरूको गुनासो थियो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीका अध्यक्ष हिमाल गैरेले सेना र प्रहरीलाई पेट्रोलियम पदार्थ विक्री गर्न दिने नेपाल आयल निगमको निर्णय गलत भएको भन्दै तत्काल उक्त निर्णय सच्चाउन माग गर्नुभयाे । उहाँले निजी क्षेत्रले राज्यलाई आवश्यक इन्धन आपूर्ति गर्दै आएको अवस्थामा सुरक्षानिकायलाई व्यापारमा उतार्दा व्यवसायी थप मारमा परेको बताउनुभयाे ।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डीका भट्ले सेना र प्रहरीलाई पेट्रोलियम पदार्थ बिक्री गर्न दिन नहुने व्यवसायीको मागप्रति निगम गम्भीर बनेको बताउनुभयाे । उहाँले व्यवसायीका गुनासोहरूलाई निगमले नीतिगत तहमा उठाउने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयाे।
प्रदेशसभा सदस्य वैजनाथ जैसवालले निजी क्षेत्रको संरक्षण बिना आर्थिक विकास सम्भव नहुने बताउँदै सरकारले पेट्रोलियम व्यवसायीका समस्यामा ध्यान दिनुपर्नेमा जोड दिनुभयाे । उहाँले सुरक्षा दिन नसकेको सेना र प्रहरीलाई इन्धन बेच्न दिनु उचित नभएको धारणा राख्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनु भयाे ।
त्यस्तै, नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलका प्रमुख तिलक केसीले उपभोक्ताको हितका लागि इन्धनसहित हरेक प्रकारका वस्तुमा गुणस्तर र नापतौलमा एकरूपता हुनुपर्ने बताउनु भयाे । उहाँले व्यवसायी र नियमनकारी निकायबीच सहकार्य भए मात्र उपभोक्ताले गुणस्तरीय सेवा पाउने उल्लेख गर्नुभयाे ।
साधारणसभाले आगामी कार्यकालका लागि संगठनलाई अझ सशक्त बनाउँदै पेट्रोलियम व्यवसायीका हकहित र अधिकारका विषयमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।