आजदेखि बुटवलमा सडक खाना महोत्सव

1.3K

आजदेखि बुटवलमा सडक खाना महोत्सव

पर्यटनलाई राष्ट्रको आर्थिक विकासको मेरुदण्डका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि बुटवल सडक खाना महोत्सव सञ्चालन हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा हुने महोत्सवको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ ।

‘अतिथि देवो भवः – नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सृजना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित कालिकापथको नयाँ बसपार्क चोकदेखि तीनकुनेसम्म सञ्चालन हुनेछ । महोत्सव अंग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्ने अवसरका रूपमा आयोजना गरिएको हो ।
महोत्सवमा स्थानीय होटल तथा रेष्टुरेन्टहरूका परिकारसँगै थारु, नेवारी, मगरलगायत विभिन्न जातजातिका मौलिक खानाका परिकारहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।
आयोजकका अनुसार यस वर्षको महोत्सव विगतका वर्षहरूभन्दा फरक शैलीमा सञ्चालन गरिनेछ । सडकको दुई किनार खाली राखि बीच भागमा स्टल व्यवस्थापन गरिएकाले सवारी आवागमन, एम्बुलेन्स, दमकललगायत आपतकालीन सेवामा कुनै अवरोध नहुने संघका अध्यक्ष माधवकुमार खनालले बताउनु भयाे ।
महोत्सवमा करिब ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा करिब २ लाख दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
स्वच्छता र सुरक्षालाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्टलधनीहरूलाई खाद्य स्वच्छता तथा व्यवसायिक आचारसंहिता सम्बन्धी एकदिने तालिम प्रदान गरिएको छ । महोत्सव अवधिभर निःशुल्क घुम्ती तथा अस्थायी शौचालयको व्यवस्था, सीसीटीभी जडान, निजी सुरक्षा गार्ड तथा नेपाल प्रहरीको सुरक्षा व्यवस्था रहनेछ ।
महोत्सव आजदेखि १७ गतेसम्म साँझ ६ बजेदेखि राति १ बजेसम्म हुनेछ । त्यस्तै पुस १६ गते दिउँसो पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूबीच अन्तरक्रिया गोष्ठीसमेत आयोजना गरिनेछ ।
महाेत्सवकाे आज अपरान्ह ४ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
महोत्सवकाे संरक्षक बुटवल उपमहानगरपालिका रहेकाे छ भने उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेश प्रवर्द्धकका रूपमा रहेका छन् । गोरखा ब्रुअरी मुख्य प्रायोजक रहेको महोत्सवमा विभिन्न संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानहरूको सहयोग रहनेछ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार बनालले महोत्सवले बुटवलको पर्यटन प्रवर्द्धन, रात्रीकालीन व्यवसाय विस्तार तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।