नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम भएको छ ।
रुपन्देही उद्योग संघको व्यवस्थापनमा पुस ३ देखि १७ गतेसम्म सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । पत्रकार महासंघले प्रदर्शनीको पहिलो पेभलियनमा फोटो प्रदर्शनीसमेत आयोजना गरेको छ ।
अन्तरसंवादमा फोटो पत्रकारिता, सञ्चार इतिहास, प्रविधि, पर्यटन, उद्योग तथा संस्थागत सहकार्यका विषयमा छलफल गरिएको थियो । वक्ताहरूले फोटोको ऐतिहासिक, व्यावसायिक र भावनात्मक शक्ति उल्लेख गर्दै यसको डिजिटल संरक्षण र व्यवस्थित अभिलेखीकरण आवश्यक रहेको धारणा राखे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले फोटो तथा सञ्चार सामग्रीलाई ‘जीवित इतिहास’को संज्ञा दिँदै सकारात्मक सन्देश प्रवाहमा सबै लाग्नुपर्ने बताउनु भयाे । रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पत्रकार महासंघसँगको सहकार्यलाई संस्थागत विकासको आधारका रूपमा व्याख्या गर्दै नयाँ पुस्तालाई जोड्न प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्नुभयाे ।
त्यस्तै रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले फोटो प्रदर्शनीले स्थानीय उत्पादन, पर्यटन र पहिचान प्रवर्द्धनमा योगदान पुर्याउने बताउनु भयाे । बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्त ढकालले यस्ता कार्यक्रमलाई दीगो बनाउन दीर्घकालीन योजना आवश्यक रहेको बताउनु भयाे ।
महासंघका पूर्वअध्यक्षहरू डा. बालकृष्ण चापागाईं र डिआर घिमिरेले फोटो पत्रकारितालाई इतिहासको साक्षी र पत्रकारिताको जीवन्त रूप भएको उल्लेख गर्दै डिजिटल अभिलेख निर्माणमा जोड दिनुभयाे । सहभागीहरूले फोटो पत्रकारितामार्फत राजनीति मात्र होइन, वातावरण, नागरिक आवाज र सार्वजनिक चासोका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले प्रदर्शनीमा राखिएका फोटोको बिक्री आम्दानी र संस्थागत सहयोगबाट प्रदेशस्तरीय पत्रकारिता कोष स्थापना गर्ने योजना रहेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रम महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालकाे स्वागत तथा सचिव सिपि खनालको सञ्चालनमा भएको थियाे ।