उच्च विन्दुबाट निरन्तर ओरालो यात्रामा सुनको भाउ

1.3K

उच्च विन्दुबाट निरन्तर ओरालो यात्रामा सुनको भाउ

आइतबार हालसम्मकै उच्च विन्दु २ लाख ७० हजार रुपैयाँ पुगेको सुनचाँदीको मूल्य त्यसयता निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागमा आएको सुस्ततासँगै सुनचाँदीको भाउ घट्ने क्रम जारी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज बिहीबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
आइतबार र सोमबार हालसम्मकै उच्च विन्दु तोलाको २ लाख ७० हजार रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता चार दिनमै १० हजार ४ सय रुपैयाँले घटिसकेको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँ पुगेको थियो भने मंगलबार ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको थियो ।
व्यवसायीहरूका अनुसार पछिल्ला दिनहरूमा सुनचाँदीको भाउमा उतारचढाव तीव्र देखिएको छ भने आगामी दिनमा अन्तर्राष्ट्रिय बजार र अमेरिकी डलरको विनिमय दरले मूल्य निर्धारणमा मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।