विशेष महाधिवेशन घोषणापछि काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

1.3K

विशेष महाधिवेशन घोषणापछि काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएकाे छ ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई आमन्त्रण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
महामन्त्रीद्वय थापा र शर्माले यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा दुईदिने विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गर्नुभएकाे छ । सो प्रयोजनका लागि भृकुटीमण्डपको हलसमेत बुकिङ भइसकेको छ ।
विशेष महाधिवेशनको तयारीबारे जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गर्नु भएकाे थियाे । त्यसलगत्तै पार्टीभित्र उत्पन्न राजनीतिक तथा संगठनात्मक परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५ औँ नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर वडा र पालिका अधिवेशन समयमै हुन नसकेपछि नियमित महाधिवेशन स्थगित गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गर्नुभएकाे हाे ।