नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आगामी पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्नुपर्ने माग गरेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो माग गरेका हुन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा अगाडी बढ्नु भएको छ । विशेष महाधिवेशनकै लागि काठमाडौंस्थित भृकुटीमण्डपको हल बुक गरिसकिएको जानकारी पनि नेताहरूले दिएका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा हालकै नीति र नेतृत्वसहित आगामी निर्वाचनमा जान नसकिने निष्कर्षसहित उनीहरूले विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।
पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशन बाहेक अर्को विकल्प नरहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेससँग अब विशेष महाधिवेशन बाहेक कुनै विकल्प बाँकी नरहेको बताउनु भयो । पत्रकार सम्मेलनमा वाचन गरिएको प्रेस विज्ञप्तिमा केन्द्रले पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी पूरा गर्ने पनि विश्वास गरिएको छ ।