नेपाली काँग्रेसले पार्टी विधानविपरीत व्यक्तिगत रूपमा विशेष महाधिवेशन आह्वान गरिएको भन्दै त्यसलाई असंवैधानिक र अनुशासनहीन कार्य ठहर गरेको छ । पार्टीले यस्ता गतिविधिमा संलग्न नहुन सबै तहका नेता–कार्यकर्तालाई कडा चेतावनी दिएको छ ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार, मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ नियमित महाधिवेशनको कार्यतालिका सर्वसम्मत् रूपमा पारित गरिसकेको छ । विधानअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको माग स्वाभाविक रूपमा निष्प्रभावी भइसकेको काँग्रेसको ठहर छ ।
पार्टीले स्पष्ट रूपमा जनाउँदै आएको छ कि सोही कार्यतालिकाअनुसार नियमित महाधिवेशन सम्पन्न गर्ने वा आवश्यक परे सोही अवधिभित्र विशेष महाधिवेशन गर्ने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र हुन्छ । तर, मिति २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै समाप्त भइसकेको निष्कर्ष निकालेको छ ।
काँग्रेसले महाधिवेशन तयारीको आधारशिला मानिने क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई पहिलो अनिवार्य प्रक्रिया भएको स्मरण गराएको छ । वडा अधिवेशनमार्फत मात्र महाधिवेशन सम्भव हुने व्यवस्था हुँदाहुँदै पनि हालसम्म सदस्यताको सूची समयमै केन्द्रीय कार्यसमितिमा पेश हुन नसकेको अवस्थालाई पार्टीभित्रको व्यवस्थागत चुनौतीका रूपमा स्वीकार गरिएको छ ।
यसैबीच, मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेसले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराइसकेको छ भने राष्ट्रिय सभा सदस्यको मनोनयनसमेत दर्ता भइसकेको छ । विदेशस्थित केही नेपाली जनसम्पर्क समितिहरूले आफ्नो अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गरिसकेका छन् ।
यस्तो अवस्थामा केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयलाई बेवास्ता गर्दै विभिन्न सञ्चार माध्यममार्फत विशेष महाधिवेशन आह्वान गरिएको प्रचारलाई काँग्रेसले पार्टी अनुशासन र विधानमाथिको सीधा चुनौतीका रूपमा व्याख्या गरेको छ ।
विज्ञप्तिमा काँग्रेसले स्पष्ट पारेको छ— कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्ति, पदाधिकारी वा समूहलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र हुन्छ । व्यक्तिगत रूपमा गरिने यस्ता गतिविधि पार्टी विधानको उल्लङ्घन मात्र नभई संगठनात्मक अराजकताका संकेत हुने काँग्रेसको निष्कर्ष छ ।
काँग्रेसले केन्द्रदेखि टोल तहसम्मका सबै समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई यस्ता अवैधानिक गतिविधिबाट टाढा रहन कडा अपिल गरेको छ ।
साथै, पार्टीले आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनलाई प्राथमिक जिम्मेवारीका रूपमा लिँदै पार्टीको प्रतिष्ठा र राजनीतिक विश्वसनीयता जोगाउन सबै शक्ति उम्मेदवार विजय अभियानमा केन्द्रित गर्न आह्वान गरेको छ ।