देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहँदा दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत हल्का असर देखिएको छ । यसका कारण तराई भू-भागमा हुस्सु तथा कुहिरो यथावत् रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहँदा बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम प्रायः सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा विशेषगरी हुस्सु देखिएको छ भने अन्य तराई भू-भागका धेरै स्थानमा कुहिरो लागेको छ ।
महाशाखाले आगामी आईतबार २७ पुससम्मका दिनमा तराई भू-भागमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहने सम्भावना देखिएकाे उल्लेख गरेकाे छ । रातिको समयमा पनि केही स्थानमा हुस्सु देखिन सक्ने पूर्वानुमान गरिएको छ । यस अवधिमा पहाडी तथा हिमाली भू-भागमा भने अधिकांश समय मौसम सफा नै रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रका कुहिरो र हुस्सुका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।