नेपाली काँग्रेसको विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको सचिवालयले जनाएकाे छ । विशेष महाधिवेशन सचिवालयका अनुसार बन्दसत्रको सभापतित्व ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने छन् भने भोलि सुरु हुने उद्घाटन सत्र काठमाण्डाैका जिल्ला सभापतिकाे सभापतित्वमा हुनेछ ।
महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास व्यवस्थापन सम्बन्धी कामहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यका अनुसार प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै स्वयंसेवक परिचालन गर्दै स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको छ ।
देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू राजधानीमा भित्रिन थालेपछि महाधिवेशन स्थल भृकुटीमण्डप र आसपासको क्षेत्रमा चहलपहल बढ्दै गएको छ । आइतबार र सोमबार आयोजना हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताउनु भयाे ।
उहाँका अनुसार मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले महाधिवेशन स्थल थप सक्रिय देखिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको यो विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहस र भावी दिशानिर्देशनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।