काँग्रेस विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख : कानुनी परामर्शमा देउवा

1.3K

काँग्रेस विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख : कानुनी परामर्शमा देउवा

काँग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेपछि सभापति शेरबहादुर देउवाले कानुनविद्हरूसँग परामर्श सुरु गर्नु भएकाे छ । बहुमत महाधिवेशन प्रतिनिधि आफ्नो विपक्षमा देखिएसँगै वैधानिक संकट उत्पन्न हुन सक्ने आकलनपछि देउवाले आफू निकट नेता र कानुनविद्हरूसँग छलफल थाल्नुभएकाे हाे ।
देउवाले निजी निवास महाराजगन्जमा शेखर कोइराला, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरूलाई सहभागी गराएर कानुनी परामर्श लिनुभएकाे छ ।
उता, काँग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ उन्मुख बनेको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारदेखि काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत भृकुटीमण्डपस्थित हलमा बन्दसत्र सञ्चालन भइरहेको छ । बन्दसत्रमा महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन र अर्का महामन्त्री थापाले पनि प्रतिवेदन पेस गर्नु भएकाे छ ।
बन्दसत्रले विशेष महाधिवेशन सञ्चालन कार्यविधि २०८२ पारित गरेको छ । उक्त कार्यविधिमा महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव, केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समिति गठनलगायतका व्यवस्था समेटिएका छन् । कार्यविधिअनुसार बन्दसत्रमा महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति भंग गरी अर्को नियमित महाधिवेशन नहुन्जेलसम्मका लागि नयाँ कार्यसमिति चयनको प्रस्ताव गर्न सक्ने व्यवस्था छ ।
१४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भइसकेकाले तत्काल नेतृत्व परिवर्तन गरी फागुन २१ गते निर्वाचनमा जानुपर्ने विशेष महाधिवेशन पक्षधर नेताहरूको भनाइ छ ।