प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता गरिएको समानुपातिक उम्मेदवारको सूचीबाट १७५ जनाले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार नाम फिर्ता लिने उम्मेदवारहरू १७ वटा विभिन्न राजनीतिक दलसँग सम्बन्धित छन् ।
नाम फिर्ता लिनेको संख्या ठूलो देखिनुको मुख्य कारण लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) बीच भएको एकीकरण हो । एकीकरणपछि लोसपाबाट समानुपातिकतर्फ दर्ता भएका ११० जना उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।
निर्वाचन कार्यतालिकाअनुसार गत १३ र १४ पुसमा राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए । आयोगका अनुसार ५८ वटा चुनाव चिह्नमार्फत प्रतिस्पर्धा गर्ने गरी ६४ राजनीतिक दलले बन्दसूची दर्ता गराएका छन् ।
सबै दलका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुल ३ हजार ४ सय २४ जनाको नाम बन्दसूचीमा समावेश गरिएको थियो । उम्मेदवारहरूले नाम फिर्ता लिएपछि रिक्त भएको स्थानमा नयाँ नाम पठाउन दलहरूलाई ३० पुसदेखि २ माघसम्मको समय दिइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार जुन समावेशी समूहबाट उम्मेदवारले नाम फिर्ता लिएका हुन्, सोही समूहभित्रबाट मात्र दलहरूले वैकल्पिक उम्मेदवारको नाम पठाउन पाउने व्यवस्था गरिएको छ ।