बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि रुपन्देही क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेको उद्योगी ब्यवसायीले बताएका छन् । केही भएपनि चलायमान भएको यहाँको बजार राजधानी सारिएसंगै सुस्ताउँदै जाँदा आर्थिक गतिबिधि समेत घटेको उनीहरुको तर्क छ । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र न २ मा रहेका निजीक्षेत्रका सरोकारवालासंग गरेको आर्थिक नीति सम्वाद कार्यक्रममा बोल्ने अधिकांश उद्योगी ब्यवसायीले राजधानी सरेपछिको क्षतिले बर्षौंसम्म हानिरहेको समेत उल्लेख गरे । बुटवल कालिकानगरमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले कांग्रेसलाइ जिताएर पठाउन आग्रह गर्नुभयो । उहाले आफुले नीजिक्षेत्रमा अर्बाैँ लगानी गरेको उल्लेख गर्दै राज्यबाट सहि नीति र नियम नबन्दा समस्या भोगेको समेत स्मरण गर्नुभयो । उहाँले अबको संसदमा नेपाली अर्थतन्त्र, लगानी, कृषि उत्पादनको बजार, पर्यटन, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका एजेण्डालाइ सधै प्राथमिकता राख्ने बताउनुभयो । पौडेलले रुपन्देही क्षेत्रको आवश्यकता, संभावना, समस्या र चुनौती राम्रोसंग बुझेकाले देखेका र भोगिरहेको समस्याबाट उद्योगी ब्यबसायीलाइ मुक्त गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले घरदैलोमा जाँदा जनताले दिएको सुझाव, सल्लाह र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री बालकृष्ण खाँणले कांग्रेसले रुपन्देहीमा लुम्बिनी प्रदेशको अस्थायी मुकाम तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी दाङ सार्नेलाइ अब यहाँका जनताले अनुमोदन गर्न नहुने जिकिर गर्नुभयो । देश र लोकतन्त्रलाई बलियो बनाइ संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसलाइ जिताउनुपर्ने नेता खाँणको भनाइ छ ।

सो अवसरमा बोल्दै राजनीतिक बिश्लेषक अरुणकुमार सुवेदीले नेपालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको पालामा बिस २०४८ सालको बैंकिङ उदारिकरणको नीतिले देशमा आर्थिक अवस्था सुधारिएको र साना ब्यवसायीले पनि ठूलो कारोबार गरेर आर्थिक अबस्था अब्बल बनेको उल्लेख गर्नुभयो । उहाँले २०६३ सालपछि देश कम्यूनिष्टको नेतृत्वमा जाँदा तहसनहस भएको स्मरण गर्नुभयो । उहाले अब कांग्रेसले यसलाइ सुधारेर जनतामा आशा जगाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले आफूलाइ बदलेको स्मरण गर्दै उहाँले पूजीको सहि प्रयोग, परिचालन हुन सके देशकै आर्थिक अबस्था सुधारिने बताउनुभयो । सुवेदीले नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा सामाजिक र राजनैतिक स्वतन्त्रता मात्रै प्रदान नगरि आर्थिक स्वतन्त्रता पनि उल्लेख गर्नुपर्ने सुझाव समेत दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य रामबहादुर कार्की, कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष एवं नेपाली कांग्रेस उद्योगी ब्यवसायी परिचालन समितिका संयोजक हरि अर्याल, उद्योग बाणिज्य संघ बुटवलका महासचिव मुक्ती अधिकारी लगायतले बोल्नुभएको थियो ।