बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीमा विद्यार्थीहरूको सक्रियतामा ‘द लिडर भ्वाइस : भोलिको नेतृत्व–आजको जिज्ञासा’ विशेष संवाद कार्यक्रम भएको छ । कार्यक्रममा सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीसँग विद्यार्थीहरूले निर्वाचन, मताधिकार र कानुनी शासनका विषयमा अन्तरक्रिया गरेका थिए ।
विद्यार्थी पृन्स कार्कीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा छात्रा अप्सना पराजुलीले मोडरेटरको भूमिका निर्वाह गरेकी थिइन् । संवादका क्रममा विद्यार्थी सौरब केसीले मताधिकारको उमेरबारे जिज्ञासा राखेका थिए भने अन्य सहभागीहरूले निर्वाचनका बेला देखिने विकृतिविरुद्ध कानुनी प्रक्रिया कस्तो हुन्छ भन्ने प्रश्न उठाएका थिए ।
जवाफ दिँदै न्यायाधिवक्ता मरासिनीले सचेत नागरिकको मतले देशको पाँच वर्षको दिशा तय गर्ने उल्लेख गर्दै विधिको शासनप्रति सम्मान र जिम्मेवार सहभागिताको आवश्यकता औंल्याए । “नेता बन्न ठूलाे डिग्रीभन्दा पनि चारित्रिक शुद्धता र इमानदारी आवश्यक हुन्छ,” उनले भने, “तर कानुन बुझेको र विधिको शासनलाई सम्मान गर्ने नेतृत्वले मात्र देशलाई सही मार्गमा लैजान सक्छ ।”

कार्यक्रमबारे बिद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले विद्यार्थीले नै संयोजन, सञ्चालन र संवाद गरेको उल्लेख गर्दै यसले उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमता उजागर गरेको बताए ।
विपिना पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द मरासिनी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय संयोजक माया पौडेल तथा प्रि-प्राइमरी संयोजक मन्जु पराजुलीलगायतको उपस्थिति रहेको थियो । सूर्यान्स न्यौपानेको समन्वय र स्मृद्ध खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्स बगाले मगरले धन्यवाद ज्ञापन गरेका थिए ।
