एमाले कमजोर बनाउने प्रक्षेपणले फेल खान्छ : उपाध्यक्ष पौडेल

1.3K

एमाले कमजोर बनाउने प्रक्षेपणले फेल खान्छ : उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सन्जालमा सार्वजनिक प्रक्षेपण गलत मनशायबाट आएकाले स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको वास्तविक प्रक्षेपण केही दिनमा आउने जनाएका छन् । बुटवलमा प्रेस चौतारी निकट पत्रकारसँगको अन्तरसंवादमा उनले रुपन्देही क्षेत्र नं २ सहित देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा योजनावद्ध रुपमा आएका प्रक्षेपण वास्तविक नभएको र वास्तविक प्रक्षेपण केही दिनमा आउने दाबी गरेका छन् । ‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् तर ती वास्तविक र तथ्यपरक होइनन्, फिल्डको अवस्था धेरै फरक छ, ती प्रक्षेपणहरू फेल खानेछन्’, पौडेलले भने–‘त्यस्ता प्रक्षेपण सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला तर भरपर्दो राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले गरेका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रमहरु छैनन् ।’
रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवार रहेका पौडेलले विगतमा गरेका काम पूरा गर्न र नयाँ सपना कार्यान्वयन गर्नका लागि जनताको विश्वास रहेको जनाए । पूर्वअर्थमन्त्री पौडेलले जतिसुकै षडयन्त्रको हल्ला गरे पनि जनताले योजना र विगतका अनुभवका आधारमा आफ्नो प्रतिनिधि छान्ने जनाए ।
‘पौडेलले रुपन्देही क्षेत्र नं. २ मात्र होइन पाँच वटै क्षेत्रमा एमाले पहिलो बन्ने दाबी गरे। ‘विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नं. ४ केही कमजोर देखिन्थ्यो तर, अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकोले एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठुलो शक्तिको रूपमा पुनर् उदय  हुँदै छ,’ उनले भने ।
‘एमालेले केबल चुनाव जित्नका लागि मात्र जित्न चाहेको छैन, रुपन्देहीलाई र सिङ्गो लुम्बिनी प्रदेशलाई नै नमुना बनाउनको लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल नारायणगढ र बुटवल गोरुसिङ्गे सडक आयोजनासँगै सिद्ध बाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाहरूको निर्माण हाम्रा सपना हुन्,’ पौडेलले भने । पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू एक आपसमा जोडिने र त्यसैको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए । उनले रुपन्देहीमा संचालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनसहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने बताए ।