प्रतिनिधि सभा निर्वाचन : सातै प्रदेशमा एआईजी परिचालन

1.3K

प्रतिनिधि सभा निर्वाचन : सातै प्रदेशमा एआईजी परिचालन

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सातै प्रदेशमा सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) परिचालन गरेको छ । निर्वाचन सुरक्षा चुस्त पार्न प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागमा कार्यरत एआईजीहरूलाई प्रदेश कमाण्डको जिम्मेवारी दिइएको हो ।
केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार प्रत्येक जिल्लामा कम्तीमा एसपीबाट सुरक्षा कमाण्ड हुने व्यवस्था मिलाइएको छ । चुनौतीपूर्ण जिल्लामा एसएसपीसमेत खटाइएको छ भने आवश्यकताअनुसार एक अधिकृतलाई दुई जिल्लासम्मको कमाण्ड दिइएको छ ।
नेपाल प्रहरीले कोशी प्रदेशमा मानव स्रोत विभागका एआईजी राजन अधिकारी, मधेश प्रदेशमा एआईजी डम्बर विक, बागमतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाह, गण्डकीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एआईजी डा. मनोज केसी, लुम्बिनीमा कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, कर्णालीमा अपराध अनुसन्धान विभागका एआईजी सुशीलसिंह राठौर र सुदूरपश्चिममा प्रशासन विभागका प्रमुख हिमालयकुमार श्रेष्ठलाई खटाएकाे हाे ।
उपत्यकाबाट १२ हजार ७ सय भन्दा बढी अतिरिक्त प्रहरी टोली प्रदेश तथा जिल्लामा परिचालन भइसकेका छन् । ट्राफिक, अपराध अनुसन्धान तथा अन्य ब्यूरोका जनशक्ति पनि थपिएको छ ।
सुरक्षा रणनीतिअन्तर्गत शंकास्पद स्थानमा तालिमप्राप्त कुकुर परिचालन, साइबर निगरानीका लागि मनिटरिङ डेस्क स्थापना, सामाजिक सञ्जाल अनुगमन तथा सीमा नाकामा कडा निगरानी गर्ने व्यवस्था गरिएको छ । जिल्ला तथा केन्द्रीय सुरक्षा समितिमा दैनिक समीक्षा गर्दै आवश्यक रणनीति परिमार्जन भइरहेको प्रहरी स्रोतले जनाएको छ ।