भड्किला भाषणले देश बन्दैन, देश सम्हाल्ने तागत काँग्रेससंग छ : गगन

1.3K

भड्किला भाषणले देश बन्दैन, देश सम्हाल्ने तागत काँग्रेससंग छ : गगन

नेपाली काँग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेद्वार गगनकुमार थापाले भड्किला भाषणले देश नबन्ने बताउँदै सबै शक्तिबिचको सन्तुलन मिलाएर देश सम्हालने ताकत काँग्रेससंग मात्रै रहेको बताएका छन् । बुटवलमा शुक्रबार आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् ।
काँग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण नभएको बताउँदै उनले उम्मेदवार तथा नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने–‘काँग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रूखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।’
सभापति थापाले अगाडि भने–‘किसानका खेतमा मल पर्याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस् ।
पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गर्दै सभापति थापाले भने–‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ – निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घरमा जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’

सभापति कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता –कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे । ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् । तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’
सभापति थापाले नवयुवासँग कुरा गर्दा शुरूमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराउँदै पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा नम्रताका साथ सम्झाउन पनि आग्रह गरे । ‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस् भन्नुस् यो काँग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ।’
काँग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे । ‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ । यो काँग्रेसले एउटा मौका पाउनुपर्छ,’ उनले भने, ‘यो काँग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ । यो काँग्रेसले मौका पाउनुपर्छ ।’

सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरेका छन् । ‘हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । यो टेलिफोनले धेरैलाई झुक्याएको छ ।’ उनले भने–‘बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरेको युट्युवले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्याएको छ । धेरै भ्रममा नपरौं ।’
सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट काँग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए । उनले देशमा केही गर्ने र गर्न सक्ने भनेर माटोमा खुट्टा जमाएर बसेको पनि बताए । उनले अब गाउँमा गएर काम नगरेसम्म बाँझिएका खेतबारी हराभरा हुन नसक्ने बताएका छन् । उनले भने, ‘खेतबारी बाँझिएका छन् भने घर रित्तिएका छन् । यो ठाउँ बौद्धिक, व्यापारिक व्यक्ति उत्पादन गर्ने ठाउँ हो । यही ठाउँको व्यक्ति के भन्छन् । ७५ प्रतिशत व्यक्ति विश्वविद्यालय पढ्न गएका छैनन् ।’ कार्यक्रम नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणकाे अध्यक्षतामा भएकाे थियाे ।