बुटवलमा मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै

1.3K

बुटवलमा मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । खेलकुदमार्फत स्वस्थ जीवनशैली, आपसी मित्रता र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।
बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवल–११ देवीनगर माँझगाउँस्थित कभर्ड हलमा यही फागुन २९ र ३० गते दुई दिनसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबले जनाएको छ ।
कार्यक्रमका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसीका अनुसार प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यसैअनुसार यस वर्ष चौथो संस्करणको मेयर कप प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए ।
प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल (५५ वर्षमाथि) र मास्टर भेट्रान्स डबल (४५ वर्षमाथिको खेलाडीले ३५ वर्षमाथिको खेलाडीसँग जोडी बनाएर खेल्नुपर्ने) गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट अनुभवी तथा उदीयमान खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको क्लबका अध्यक्ष नलराज नेपालले बताए ।
मेन्स डबलतर्फ प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँसहित मेडल, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल, सिल्ड र ट्रफी प्रदान गरिने छ । मास्टर भेट्रान्स डबलतर्फ प्रथम हुने टिमलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष नेपालले जानकारी गराए ।
बुटवल ब्याडमिन्टन क्लबका अनुसार प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धासँगै अनुभव आदान–प्रदान, मित्रता विस्तार तथा खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको पनि उनले बताए ।