बुटवलमा सञ्चालन गरिएकाे विद्यालय स्तरिय महिला भलिवलकाे उपाधि सिद्धेश्वर माध्यमिक विद्यालयले प्राप्त गरेकाे छ । नेपाली काँग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकाे १६औं स्मृति दिवसकाे अवसरमा जिपि स्मृति प्रतिष्ठान रुपन्देहीले आयाेजना गरेकाे महिला भलिवल रनिङ् शिल्ड प्रतियाेगितामा उजुरसिंहलाई ३/१ काे सेट (१६-२५, २५-२३, २५-१६ र २५-१७)मा हराउदै सिद्धेश्वरले उपाधि जितेकाे हाे ।
शनिबार भएकाे फाइनल प्रतिस्पर्धामा पराजित भएकाे उजुरसिंह दाेस्राेमा समेटिएकाे छ ।
प्रथम भएकाे सिद्धेश्वरले नवीन र दाेस्राेमा समेटिएकाे उजुरसिंहले पर्राेहा माविलाई हराएर फाईनलमा प्रवेश गरेका हुन् । प्रतियाेगितामा प्रथम भएकाे सिद्धेश्वरलाई २५ हजार रुपैंया तथा दाेस्राे भएकाे उजुरसिंहलाई २० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ ।
रुपन्देही भित्रका ११ वटा सामुदायिक विद्यालयले प्रतिस्पर्धा गरेकाे प्रतियाेगितामा नवीन औद्याेगिक माध्यमिक विद्यालय तेस्राे भएकाे छ । नविनले पर्राेहा माध्यमिक विद्यालयलाई ३ शुन्यकाे सेटमा हराएकाे हाे । नविनसंग हारेकाे पर्राेहा सान्त्वना भएकाे छ ।
तेस्राे र सान्त्वना भएका नवीन र पर्राेहालाई क्रमश: १५ हजार र १० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ ।
प्रतियाेगितामा सिद्धेश्वरकी निरुता नाथ उत्कृष्ट र पर्राेहा माविकी दर्शना राेका अनुशासित खेलाडि घाेषित भए ।


उनीहरुलाई जनही १ हजार ५ सय रुपैंया नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय तथा प्रतष्ठानका सल्लाहकार राधेश्याम राजभण्डारीले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।
प्रतियाेगितामा प्रथम भएकाे सिद्धेश्वर, दाेस्राे भएकाे उजिरसिंह, तेस्राे भएकाे नवीन र सान्त्वना भएका पर्राेहासहित ज्ञानाेदय माध्यमिक विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, नहरपुर माध्यमिक विद्यालय, नवरत्न माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, माेतिपुर माध्यमिक विद्यालय र नयाँगाउ माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेकाे कार्यक्रम संयाेजक प्रतिष्ठानका कार्यसमिति सदस्य बाबुराम बिकले जानकारी गराए । कार्यक्रम परतिष्ठानकी सचिव गंगा पन्थीकाे सञ्चालनमा भएकाे थियाे ।