बुटवलमा भाेली साेमबारदेखि राष्ट्रिय खुल्ला लन टेनिस प्रतियाेगिता हुदैछ । रुपन्देही लन टेनिस संघको आयोजनामा हुने आठौं राष्ट्रिय खुल्ला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिताकाे तयारी पूरा भएकाे संघले जनाएकाे छ । देवीनगरस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा देशभरबाट २ सय भन्दा बढी पुरुष तथा महिला खेलाडी सहभागी हुने संघका अध्यक्ष विष्णु चापागाईंले जानकारी दिए ।
उनका अनुसार खेलहरू पुरुष तथा महिला एकल र डबल्स गरी कुल ११ विधामा सञ्चालन हुनेछन् । एकलतर्फ पुरुष/महिला, पुरुष ३५ वर्षमाथी, ४५ वर्षमाथी, ५५ वर्षमाथी र ६५ वर्षमाथी गरी ६ विधा तथा डबल्सतर्फ पुरुष, महिला, ३५ वर्षमाथी, ४५ वर्षमाथी र ५५ वर्षमाथी गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ ।
पुरुष तथा महिला एकलतर्फ विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने तेस्रो हुने खेलाडीलाई २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अन्य उमेर समूहका विजेतालाई १५ हजारदेखि ४० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
चैत २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिब २६ लाख ६७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
खेलहरू नेपाल लन टेनिस संघको स्वीकृतिमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिनेछ । यसअघि सम्पन्न सातौं संस्करणमा पुरुष एकलतर्फ पोखराका प्रदीप खड्का र महिला एकलतर्फ काठमाडौंकी सुनीरा थापा विजेता बनेका थिए ।