बुटवलमा दोस्रो लखन कप फुटबल प्रतियोगिता हुँदै

1.3K

बुटवलमा दोस्रो लखन कप फुटबल प्रतियोगिता हुँदै

बुटवलमा दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता हुँदैछ । लखन ब्रदर्श युथ क्लबले यहि बैशाख ११ गतेदेखि हुने दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता गर्न लागेको हो ।
क्लवका अध्यक्ष सुदिप खत्रीका अनुसार बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा बुटवलको रामनगरस्थित खेल मैदानमा सञ्चालन गरिने प्रतियोगितामा १२ टिम प्रतिस्पर्धा गर्नेछन् । उनले प्रतियोगिताका लागि एक महिनादेखी मैदान मर्मत तथा स्थाई स्टेज निर्माणको काम गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेता टिमलाई ३ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेतालाई १ लाख ५१ हजार १११ नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २० हजार १११ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट मिड फिल्डरलाई जनही १० हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पुरस्कृत गरिनेछ ।
प्रतियोगिताका संयोजक रामबहादुर थापाका अनुसार आयोजक लखन ब्रदर्श र विभागीय आर्मीको तारादल गणसहित सम्पूर्ण युवा क्लब सुपौली, देवदह ब्वाइज युवा क्लब, फर्साटिकर युवा क्लब, चाँदनी युवा क्लब दानापुर, योङ ब्वाइज खैरेनी, शिवनगर परिवार, तिलोत्तमा–११, न्यू युथ युनियन क्लब पाल्पा, सयपत्री युवा क्लब रामनगर र सुनवल एफसी गरी १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न १९ लाख बढी खर्च अनुमान गरिएको क्लबका सचिव निरन्जन पन्तले जानकारी दिए । उनका अनुसार संरक्षक बुटवल उपमहानगरपालिका तथा विभिन्न सहयोगी दाताहरुबाट सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको हो ।