सात विश्वविद्यालयमा उपकुलपति नियुक्त : लुम्बिनीको बाँकी

1.3K

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त : लुम्बिनीको बाँकी

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने उपकुलपति नियुक्ति प्रक्रिया अझै टुंगिन बाँकी रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयमा प्रा. भोला थापा, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल, पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, राजर्षी जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ तथा कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति बनेका भोला थापा यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति थिए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरहठ्ठा नेपाल खुला विश्वविद्यालयका प्राध्यापक तथा चिकित्सा शिक्षा आयोगका पूर्वनिर्देशक हुन् । सुदूरपश्चिम विश्वविद्यालयका किसनदत्त भट्ट इन्जिनियरिङ संकायका प्राध्यापक हुन् भने उनले हङकङ विश्वविद्यालयबाट सहरी योजना तथा डिजाइनमा विद्यावारिधि गरेका छन् ।
कृषि तथा वन विश्वविद्यालयका ऋषिराम कट्टेल सोही विश्वविद्यालयका प्राध्यापक हुन् । उनले कृषि अर्थशास्त्र तथा कृषि व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । राजर्षी जनक विश्वविद्यालयका उपकुलपति बनेका श्यामनारायण लाभ त्रिभुवन विश्वविद्यालयका प्राणीशास्त्रका प्राध्यापक हुन् । उनले दिल्ली विश्वविद्यालयबाट ‘माछाको पोषण’ विषयमा विद्यावारिधि गरेका छन् ।
पोखरा विश्वविद्यालयका उपकुलपति देवेन्द्र अधिकारी त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक हुन् । उनले भागलपुर विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सिभिल इन्जिनियरिङ विभागमा कार्यरत थिए ।
सरकारले आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि एकैपटक आवेदन आह्वान गर्दा २१८ जनाको आवेदन परेको थियो । छनोट समितिले कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताका आधारमा प्रत्येक विश्वविद्यालयका लागि तीन–तीन जनाको नाम सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा प्रधानमन्त्री शाहले सात विश्वविद्यालयमा नियुक्ति गरेका हुन् ।
शिक्षा मन्त्रालयका अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अझै जारी रहेकाे छ ।