विश्वमै एलनिनो जोखिम उच्च : तत्काल तयारी गर्न आग्रह

1.3K

विश्वमै एलनिनो जोखिम उच्च : तत्काल तयारी गर्न आग्रह

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले आगामी केही महिनामा एलनिनोको प्रभाव तीव्र हुने चेतावनी दिँदै विश्वभरका देशहरूलाई सम्भावित विपद्को सामना गर्न तत्काल तयारी गर्न आग्रह गरेको छ । संगठनका अनुसार एलनिनो बलियो बन्दै जाँदा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्नेछ ।
डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एलनिनो अवस्था सुरु भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ । एलनिनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम असामान्य रूपमा बढ्दा विकसित हुने प्राकृतिक जलवायु प्रणाली हो, जसले विश्वभर हावाको बहाव, वायुदाब तथा वर्षाको ढाँचामा व्यापक परिवर्तन ल्याउँछ ।
सामान्यतया २ देखि ७ वर्षको अन्तरालमा देखापर्ने एलनिनो करिब ९ देखि १२ महिनासम्म सक्रिय रहने गर्छ । यसको विपरीत अवस्था ‘ला निना’ हो भने यी दुईबीच तटस्थ अवस्था पनि रहने गर्छ । डब्लुएमओले एलनिनोलाई कमजोर, मध्यम, बलियो र अत्यन्त बलियो गरी चार तहमा वर्गीकरण गर्दै आएको छ । यसपटक जुलाईदेखि सेप्टेम्बरसम्म यो तेस्रो अर्थात् ‘बलियो’ श्रेणीमा पुग्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय जलवायु केन्द्रहरूले तयार पारेका विभिन्न पूर्वानुमान मोडेलअनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम निरन्तर बढ्ने देखिएको छ । प्रमुख अनुगमन क्षेत्रहरूमा तापक्रम औसतभन्दा २ डिग्री सेल्सियसभन्दा बढी रहने अपेक्षा गरिएको छ, जसले यस पूर्वानुमानप्रति उच्च विश्वसनीयता रहेको संकेत गरेको डब्लुएमओले जनाएको छ ।
संगठनका अनुसार एलनिनो उत्तरी गोलार्धको शरद ऋतुमा अझ बलियो बन्दै जानेछ र यसको प्रभाव विश्वका अधिकांश क्षेत्रमा महसुस हुनेछ । साथै भूमध्यरेखीय एटलान्टिक महासागर पनि सामान्यभन्दा बढी तातो रहने अनुमान गरिएको छ ।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोले एलनिनोको प्रभावसँगै धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, स्थल तथा समुद्री गर्मीको लहरको जोखिम बढ्ने भएकाले सरकार तथा सम्बन्धित निकायहरूले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनका अनुसार कृषि, स्वास्थ्य, जलस्रोत तथा विपद् व्यवस्थापन क्षेत्रमा प्रारम्भिक चेतावनी प्रणाली र मौसमी पूर्वानुमानलाई प्रभावकारी बनाउँदै समयमै सूचना प्रवाह गर्न सके जनधनको क्षति उल्लेखनीय रूपमा कम गर्न सकिन्छ ।
नयाँ अद्यावधिकले ६० डिग्री दक्षिणदेखि ६० डिग्री उत्तरसम्मका अधिकांश भएका भूभागमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना औँल्याएको छ । जुलाईदेखि सेप्टेम्बरसम्म केही क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ भने भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।
डब्लुएमओले जलवायु परिवर्तनका कारण एलनिनोको आवृत्ति वा तीव्रता बढेको ठोस प्रमाण नरहेको स्पष्ट पारेको छ । तर समुद्र र वायुमण्डलको बढ्दो तापक्रमका कारण एलनिनोसँग सम्बन्धित गर्मीको लहर, भारी वर्षा तथा अन्य चरम मौसमीय घटनाको प्रभाव अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ । साथै न्यानो समुद्री पानीका कारण मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको गतिविधि बढ्न सक्ने भए पनि अटलान्टिक महासागरमा यस्ता प्रणालीको विकास कमजोर हुन सक्ने डब्लुएमओले जनाएको छ ।