रोटरी तिलोत्तमा रुपन्देहीमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण

1.3K

रोटरी तिलोत्तमा रुपन्देहीमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको १५औँ पद हस्तान्तरण तथा अवार्ड समारोह शनिबार बुटवलमा सम्पन्न भएको छ । समारोहमा रोटरी वर्ष २०२६–२७ का लागि निर्वाचित अध्यक्ष देवीलाल भट्टराई नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले रोटरीको मूल मन्त्र ‘आफूभन्दा माथि सेवा’ लाई आत्मसात् गर्दै क्लबका गतिविधिलाई थप प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी कार्ययोजना प्रस्तुत गर्दै विगतदेखि सञ्चालन हुँदै आएका सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।
उनले क्लबको पहलमा तीन महिने भोकेशनल (सीपमूलक) तालिम सञ्चालन गरिने जानकारी दिँदै रोटरी तिलोत्तमा रुपन्देहीको प्रायोजनमा गठित रोटर्याक्ट तथा इन्टर्याक्ट क्लबका सदस्यलाई तालिममा प्राथमिकता दिन आग्रह गरे ।
निवर्तमान अध्यक्ष दीपक भट्टराईले आफ्नो कार्यकालमा निर्धारित लक्ष्यअनुसारका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । उनले क्लबका सबै गतिविधिमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यकालभर सहयोग र योगदान पुर्‍याउने व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरे ।
कार्यक्रममा डिष्ट्रिकका एजी जितेन्द्र शर्मा, एजी डा. प्रकाश बस्नेत, रोटरी डिस्ट्रिक्ट रिजन–५ का सचिव तथा पूर्व अध्यक्ष कृष्णप्रसाद शर्मा, रोटर्याक्टका आइपीडीआरआर विक्रम क्षेत्री, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष कमल कोइराला, क्लवका संस्थापक अध्यक्ष डाेलराज गैरै, पूर्व अध्यक्ष देवीराम पाण्डे तथा उपाध्यक्ष निरञ्जन पोखरेलले ठूला कार्यक्रमभन्दा पनि साना–साना सामाजिक गतिविधिमार्फत समाज रूपान्तरणमा योगदान दिन सकिने उल्लेख गर्दै रोटरीले सदस्यहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव किशोरकुमार विकले गरेका थिए ।