नेपाल फार्मेसी संघ, रुपन्देहीले पछिल्लो समय औषधिको गुणस्तर, मूल्य निर्धारण तथा आपूर्ति प्रणालीसँग सम्बन्धित समाचार सार्वजनिक भइरहेका बेला औषधि खरिद–बिक्रीमा कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै औषधि मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील वस्तु भएकाले यसको कारोबारमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पारेको हो ।
संघका अध्यक्ष चोकलाल सापकोटा र महासचिव महेश पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा औषधि व्यवसाय सञ्चालन गर्ने सबै फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टले प्रचलित कानुन, व्यावसायिक आचारसंहिता र नैतिक मूल्य–मान्यताको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
संघले पछिल्लो समय बजारमा औषधिमा अस्वाभाविक छुट दिने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा केही स्थानमा १० प्रतिशतदेखि २५ प्रतिशत वा सोभन्दा बढी छुट दिइने अभ्यासले औषधिको वास्तविक मूल्य, गुणस्तर र आपूर्ति प्रणालीप्रति विभिन्न प्रश्न उठाएको छ । व्यावसायिक छुटको नाममा उपभोक्तालाई आकर्षित गर्ने गतिविधिले औषधिको गुणस्तर, भण्डारण व्यवस्था तथा आपूर्ति शृंखलामाथि समेत शंका उत्पन्न गरेको संघको भनाइ छ ।
संघले सर्वसाधारण तथा बिरामीलाई केवल छुटको आधारमा औषधि खरिद नगर्न आग्रह गर्दै दर्तावाला तथा विश्वसनीय फार्मेसीबाट मात्रै बिलसहित औषधि खरिद गर्न सुझाव दिएको छ । औषधिको उत्पादन मिति, म्याद समाप्ति मिति र प्याकेजिङसम्बन्धी विवरण अनिवार्य रूपमा जाँच गर्न तथा कुनै शंका लागे सम्बन्धित नियामक निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।
विज्ञप्तिमा औषधिको मूल्य निर्धारण र छुटसम्बन्धी प्रचलित कानुनी व्यवस्थाविपरीत गरिने अनियमित छुट तथा भ्रामक प्रचारप्रसारले स्वस्थ व्यावसायिक प्रतिस्पर्धामा असर पुर्याएको उल्लेख गर्दै सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन र आवश्यक कारबाही गर्न आग्रह गरिएको छ ।
जनस्वास्थ्यको संरक्षण, गुणस्तरीय औषधिको सुनिश्चितता र स्वस्थ व्यावसायिक वातावरण कायम राख्न नियामक निकायले बजार अनुगमन तथा नियमनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा संघले जोड दिएको छ । नागरिकको स्वास्थ्य र सुरक्षाभन्दा माथि कुनै पनि व्यक्तिगत वा व्यावसायिक स्वार्थ हुन नसक्ने उल्लेख गर्दै सुरक्षित, गुणस्तरीय र विश्वसनीय औषधि सेवा प्रवाहमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने संघले जनाएको छ ।