लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

1.3K

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना मतदान प्रक्रियामा सहभागी थिए । प्रस्तावको पक्षमा परेको ४५ मत बहुमत भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले सहित नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले समर्थन गरेका छन् ।
प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए । हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहेका थिए ।
नेपाली काँग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ।