आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ मनाइँदै छ । तर सरकारले धानमा आत्मनिर्भरताको नारा अघि सारे पनि धानको बीउमा भने नेपाल अझै विदेशी मुलुककै भर पर्न बाध्य रहेको तथ्यांकले देखाएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले १ अर्ब २९ करोड ९४ लाख रुपैयाँभन्दा बढी मूल्यको २ हजार ९ सय ९३ टन धानको बीउ आयात गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशतले बढी हो । आयातित बीउमध्ये ९९ प्रतिशतभन्दा बढी भारत र चीनबाट आएको छ ।
कृषि विज्ञहरूका अनुसार नेपालमा वार्षिक आवश्यक पर्ने धानको बीउभन्दा बढी उत्पादन हुने गरे पनि किसानको रोजाइमा पर्ने हाइब्रिड (वर्णशंकर) धानको स्वदेशी उत्पादन पर्याप्त छैन। यही कारण विदेशी हाइब्रिड बीउ आयात गर्नुपर्ने अवस्था कायम रहेको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले १५० भन्दा बढी उन्नत धानका जात सिफारिस गरिसकेको भए पनि स्वदेशी हाइब्रिड धानका जात भने सीमित छन् । कृषि विज्ञहरूले हाइब्रिड धानको अनुसन्धान, उत्पादन र गुणस्तरीय बीउ वितरणमा राज्यले लगानी बढाए मात्र धानको बीउमा विदेशी निर्भरता घट्ने बताएका छन् ।
असार १५ नेपाली कृषकका लागि रोपाइँको मुख्य दिन मात्र होइन, कृषि उत्पादन र खाद्य सुरक्षासँग जोडिएको महत्वपूर्ण अवसर पनि हो । तर आत्मनिर्भरताको लक्ष्य हासिल गर्न उत्पादनसँगै गुणस्तरीय बीउमा स्वदेशी क्षमता विस्तार गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ ।