झण्डै ९९ प्रतिशत खेतमा धान रोपाइँ : रोपाइँ दरमा वृद्धि

1.3K

झण्डै ९९ प्रतिशत खेतमा धान रोपाइँ : रोपाइँ दरमा वृद्धि

यस वर्ष देशभर धान रोपाइँ करिब ९९ प्रतिशत सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विभागको अन्तिम तथ्यांकअनुसार देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलको ९८.५६ प्रतिशतमा रोपाइँ सकिएको हो ।
विभागका अनुसार यस वर्ष देशभर १३ लाख ६९ हजार ६ सय ८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा १३ लाख ५० हजार २४ दशमलव ५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा ९४.६६ प्रतिशत मात्रै रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ दरमा उल्लेख्य सुधार भएको देखिएको छ ।
प्रदेशगत तथ्यांकअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ भएको थियो ।
कोशी प्रदेशमा गत वर्ष ९६.६७ प्रतिशत रहेको रोपाइँ दर यस वर्ष बढेर ९८.८२ प्रतिशत पुगेको छ । मधेश प्रदेशमा पनि उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको मधेशमा यस वर्ष ९८.२३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
त्यस्तै, बागमती प्रदेशमा गत वर्ष ९७.२७ प्रतिशत रहेको रोपाइँ दर यस वर्ष ९७.८२ प्रतिशत पुगेको छ । गण्डकी प्रदेशमा पनि गत वर्षको ९४.८३ प्रतिशतबाट बढेर यस वर्ष ९९.३१ प्रतिशत पुगेको छ ।
अधिकांश प्रदेशमा रोपाइँ दर बढे पनि लुम्बिनी प्रदेशमा भने सामान्य गिरावट आएको छ । गत वर्ष लुम्बिनीमा ९८.३७ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९७.८७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ ।