रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित बिरामीका लागि आवश्यक रगतको अभाव हुन नदिन प्रभु बैंक लिमिटेडले देशभर रक्तदान कार्यक्रम गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम गरेको हो । लुम्बिनी प्रदेशअन्तर्गत बुटवलमा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराईले जानकारी दिए ।
रक्तदान कार्यक्रमको एक समारोहबीच समाजसेवी महेन्द्र नारायण श्रेष्ठ र प्रभु बैंकका क्षेत्रीय प्रबन्धक सुभाष कुँवरले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै क्षेत्रीय प्रबन्धक कुँवरले बैंकिङ तथा वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि बैंकले प्राथमिकतामा राख्दै आएको बताए ।
उनका अनुसार बैंकको केन्द्रीय कार्यालय अनामनगर, काठमाडौंसहित बुटवल, सुर्खेत, धनगढी, विराटनगर, सिमरा, पोखरा र चितवनमा मंगलबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । विपद्का बेला रगतको अभाव हुन नदिन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
बुटवल शाखा प्रबन्धक भट्टराईले बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि बैंक सक्रिय रहेको बताए । बैंकले वित्तीय साक्षरता, खेलकुद, रक्तदानलगायतका विभिन्न सामाजिक गतिविधि वर्षभरि सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
भोटेकोशी बाढी प्रभावितका लागि बैंकमार्फत २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा बैंकका कर्मचारी र सञ्चालक बोर्डका सदस्यबाट थप ४० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको पनि भट्टराईले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, समाजसेवी महेन्द्र नारायण श्रेष्ठ तथा वरिष्ठ पत्रकार खिमानन्द भट्टराईले रक्तदानको महत्वबारे प्रकाश पार्दै सामाजिक उत्तरदायित्वका गतिविधिमा सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका थिए ।