बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि नेपालमा तीन दिनसम्म वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मौसम प्रभावित हुने र शुक्रबार तथा शनिबार वर्षाको प्रभाव बढी देखिन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार चक्रवात क्रमशः शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । यो प्रणाली अक्टोबर २८ (कात्तिक १२) मा भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमबीचको यानम नजिक तटीय क्षेत्रमा अति शक्तिशाली चक्रवातका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ ।
यसको प्रभावले कात्तिक १२ गतेदेखि नै नेपालका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने महाशाखाको अनुमान छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ ।
कात्तिक १३ र १४ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
वर्षाका कारण पहाडी तथा तराई क्षेत्रमा जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर कृषि कार्य गर्न सुझाव दिइएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले पर्यटकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । वर्षाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र सडक अवरुद्ध हुन सक्ने पनि महाशाखाले जनाएकाे छ ।