नेपालमा आजदेखि वर्षा र हिमपात : सतर्क रहन अपिल

1.3K

नेपालमा आजदेखि वर्षा र हिमपात : सतर्क रहन अपिल

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि त्यसको आंशिक प्रभावले नेपालमा आज कात्तिक १२ गतेदेखि शनिबारसम्म वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ । केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । त्यसपछि उत्तर-उत्तरपश्चिमतर्फ अघि बढेको प्रणाली क्रमशः कमजोर हुँदै गएको छ । आज यो गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने सम्भावना छ ।
महाशाखाका अनुसार आज कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ । कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा पनि वर्षा, चट्याङ, असिना र हिमपातको सम्भावना छ ।
यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि यसको प्रभाव पर्न सक्छ ।
वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषसँगै आउने जलवाष्पयुक्त हावा र माथिल्लो वायुमण्डलको प्रणालीबीचको अन्तरक्रियाले नेपालमा वर्षा र हिमपातको सम्भावना बढाएको हो । उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको उनले बताएकी छन् ।
सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै महाशाखाले धानबाली सुरक्षित राख्न तथा मौसम प्रतिकूल रहेका बेला पदयात्रा नगर्न आग्रह गरेको छ । उच्च हिमाली क्षेत्रमा जाने योजना स्थगित गर्न र त्यहाँ पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ ।