रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ कुञ्जलापुरस्थित कुञ्जपार्कमा संगीतको तालमा पानीका फोहरा नाच्ने र रंगीन बत्तीले पोखरी झिलिमिली बनाउने म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएको छ । एक करोड २६ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको फाउन्टेनले कुञ्जपार्कको आकर्षण बढाउनुका साथै तिलोत्तमाको रात्रिकालीन पर्यटन विकासमा नयाँ सम्भावना थपेको छ ।
तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत निर्माण गरिएको फाउन्टेनको सोमबार साँझ नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गरेका हुन् । सात बिघा क्षेत्रफलमा फैलिएको कुञ्जपार्कको करिब एक बिघाको पोखरीको पश्चिमतर्फ फाउन्टेन निर्माण गरिएको छ ।
संगीतको तालसँगै पानीका फोहरा चल्ने र रंगीन प्रकाशको संयोजनले दृश्यलाई आकर्षक बनाउने प्रविधि जडान गरिएको छ । पार्कका परिकल्पनाकार स्थानीय लोक पुनले यसलाई नेपालकै पहिलो रात्रिकालीन म्युजिकल वाटर फाउन्टेन भएको दाबी गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार फाउन्टेन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, एक करोड २६ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको उनले बताए ।
कुनै समय गौचरन र काँडे झाडी रहेको कुञ्जलापुरको यो क्षेत्र अहिले तिलोत्तमाको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय झरना स्पोर्टस्को समूहले २०६६ सालदेखि झाडी सफा गरेर पार्क विकासको पहल थालेका थिए । स्थानीय समुदायको प्रयास र नगरपालिकाको लगानीले पार्कलाई क्रमशः व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गरेको हो ।

पार्कमा पोखरीमा डुंगा सयर, पिकनिक सेड, बगैँचा, बाल उद्यान, क्याफे र हरियालीयुक्त संरचना छन् । परिसरमा पुरानो सोमई माई मन्दिरसहित धार्मिक तथा प्राकृतिक सम्पदा पनि छन् । मनोरञ्जन, प्रकृतिको आनन्द र धार्मिक आस्थालाई एकै ठाउँमा समेटेको पार्कमा म्युजिकल वाटर फाउन्टेन थपिएपछि पर्यटकलाई आकर्षित गर्ने अर्को आधार बनेको छ ।
पार्कमा दैनिक तीन सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । जसबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । पार्कसँगै जोडिएको उमा आधारभूत विद्यालयको चार बिघा जग्गा ३० वर्षका लागि भाडामा लिएर पैदलमार्ग, हरियाली तथा मनोरञ्जनका पूर्वाधारसमेत निर्माण गरिएको छ ।
नगरप्रमुख खाँणले कुञ्जपार्कलाई रात्रिकालीन पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित नगरभित्रका अन्य पर्यटकीय स्थललाई समेत जोड्ने योजना रहेको बताए । ‘कुञ्जपार्कसँगै तिलोत्तमाका अन्य पर्यटकीय स्थललाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजना छ,’ उनले भने, ‘वनवाटिका, बाउन्नकोटी, तिलोत्तमा पार्क, सिद्धार्थ पिस पार्क र जमुहानी पार्कलाई समेटेर एकीकृत पर्यटन प्याकेज बनाउनेछौँ ।’
सबै पार्कलाई एउटै पर्यटन मार्गमा जोड्न सके पर्यटकको बसाइ लम्ब्याउन र स्थानीय व्यवसायलाई लाभ पु¥याउन सकिने नगरपालिकाको अपेक्षा छ । उपप्रमुख चौधरीले पर्यटन पूर्वाधारमा लगानी बढाएर पर्यटकको आगमन वृद्धि गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य रहेको बताइन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुञ्जपार्कलाई थप व्यवस्थित र आकर्षक बनाउने कामलाई नगरपालिकाले निरन्तरता दिने उनको भनाइ छ ।
वडा नं. ६ का अध्यक्ष गणेश पाठकले पर्यटकको आकर्षण बढ्दै गएकाले पार्कको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए । पर्यटन क्षेत्रमा हुने लगानीले स्थानीय आर्थिक गतिविधि बढाउन र समृद्ध तिलोत्तमा निर्माणमा योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।
स्थानीय लोक पुनका अनुसार समुदाय र झरना स्पोर्टस् क्लबले संरक्षण तथा व्यवस्थापनमा निरन्तर भूमिका खेल्दै आएको छ । स्थानीयस्तरमा खेलकुदको विकाससँगै मनोरञ्जन र पर्यटनको गन्तव्य बनाउने उद्देश्यले सुरु गरिएको पहल अहिले नगरकै महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रूपमा अघि बढेको छ ।
म्युजिकल वाटर फाउन्टेनको थप आकर्षण र अन्य पार्कलाई जोड्ने योजनाले कुञ्जपार्कको पर्यटकीय सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ ।