आम्दा अस्पताललाई पेडियाट्रिक वार्ड भवन हस्तान्तरण

1.3K

आम्दा अस्पताललाई पेडियाट्रिक वार्ड भवन हस्तान्तरण

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल–७ स्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा निर्माण गरिएको पेडियाट्रिक वार्ड–एनेक्स–१ भवन अस्पताललाई हस्तान्तरण गरिएको छ ।
सोमबार आम्दा विज्ञान प्रतिष्ठान बुटवलको सभाहलमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद पराजुलीलाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।
भवन हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेयले महिला तथा बालबालिकालाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको आम्दा अस्पतालको सेवा विस्तार र स्तरोन्नतिमा उपमहानगरपालिकाको सहकार्य निरन्तर रहने बताए । स्थानीय सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेको उल्लेख गर्दै उहाँले अस्पतालको पूर्वाधार विकाससँगै सेवा विस्तारमा पनि आवश्यक सहयोग गरिने बताए ।
त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रीदेवी अर्यालले महिला तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर अस्पतालको पूर्वाधार र सेवा विस्तारमा उपमहानगरपालिकाले सहयोग गर्दै आएको बताईन । अस्पतालको थप स्तरोन्नति तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहकार्य गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ ।
अस्पताल स्थानीय व्यवस्थापन समितिका सदस्य जीवनप्रसाद वझाले आम्दा अस्पतालसँग बुटवल उद्योग वाणिज्य संघले सुरुदेखि नै सहकार्य गर्दै आएको उल्लेख गर्दै अस्पतालको प्रगतिमा संस्थागत साथ र सहयोग निरन्तर रहने बताए ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद पराजुलीले नयाँ भवन निर्माण तथा हस्तान्तरण हुनु भौतिक पूर्वाधार थपिनु मात्र नभई स्थानीय सरकारले आमा तथा बालबालिकाको स्वास्थ्यलाई दिएको प्राथमिकताको प्रमाण भएको बताए । उनले भवन निर्माणका लागि सहयोग गरेकोमा बुटवल उपमहानगरपालिकाप्रति आभार व्यक्त गरे ।
भवन निर्माणसम्बन्धी विवरण प्रस्तुत गर्दै इन्जिनियर मोहराज पौडेलले पेडियाट्रिक वार्ड–एनेक्स–१ भवन ९२ लाख २२ हजार ७ सय २५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको जानकारी दिए । भवन निर्माणका लागि उपमहानगरपालिका र अस्पतालबीच २०८२ असोज ६ गते सम्झौता भएको र निर्माण कार्य २०८३ असार ३२ गते सम्पन्न भएको उनले जानकारी गराए ।
कार्यक्रममा मेडिकल सुपरिन्टेन्डेन्ट डा. पराजुलीले नगर प्रमुख पाण्डेयलाई सम्मानपत्रसमेत प्रदान गरेका थिए । अस्पतालकी मेट्रोन कल्पना विश्वकर्माको स्वागत तथा एचआर देवप्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा उपमहानगरपालिकाका कर्मचारी, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता थियो ।
बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ र आम्दा नेपालबीचको त्रिपक्षीय सम्झौता तथा सहकार्यमा सिद्धार्थ बाल तथा महिला अस्पताल २०५५ कात्तिक १६ गते स्थापना भएको हो । महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेर सेवा सुरु गरेको अस्पतालमा हाल १३९ शय्या सञ्चालनमा छन् ।
अस्पतालले बालरोग, स्त्री तथा प्रसूति रोग, स्त्री क्यान्सर, सामान्य चिकित्सा, बालरोग शल्यचिकित्सा, आँखा, नाक–कान–घाँटी, हाड तथा नशा, दाँत तथा गिजालगायतका सेवा प्रदान गर्दै आएको छ । अस्पताल प्रशासनका अनुसार मधुमेह भएका २५ वर्षसम्मका व्यक्ति तथा थालासेमिया भएका बिरामीलाई निःशुल्क सेवासमेत प्रदान गरिँदै आएको छ ।
मेडिकल सुपरिन्टेन्डेन्ट डा. पराजुलीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अस्पतालबाट ४६ हजार ६ सय २३ जनाले ओपिडी, १४ हजार ३ सय ६४ जनाले आकस्मिक, ८ हजार ७ सय १९ जनाले भर्ना, १ हजार १ सय ४७ जनाले शल्यक्रिया, १ हजार ७ सय ४१ जनाले एनआइसियु तथा पिआइसियु र १ हजार २ सय ४४ जनाले प्रसूति सेवा लिएका छन् । अस्पतालमा रुपन्देही र आसपासका जिल्ला सहित सल्यान, रुकुम, प्युठान, स्याङ्जा, बागलुङलगायत १६ जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत उपचारका लागि आउने गरेका छन् ।