कांग्रेसय १५औँ महाधिवेशन : के छन् आजका मुख्य कार्यक्रम

1.3K

कांग्रेसय १५औँ महाधिवेशन : के छन् आजका मुख्य कार्यक्रम

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्रसँगै नयाँ केन्द्रीय नेतृत्व चयनको निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ । सोमबार खुलामञ्चमा उद्घाटन समारोह सम्पन्न भएपछि महाधिवेशनका मुख्य कार्यक्रम आजदेखि अघि बढ्न लागेका हुन् ।

बन्दसत्र सुरु हुँदै

आज खुलामञ्चमै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत हुनेछन् ।
करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुने बन्दसत्रमा प्रतिवेदनमाथि छलफलका लागि प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरिनेछ ।

मतदाता नामावली

केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचनको प्रक्रिया पनि आजै सुरु हुनेछ । निर्वाचन समितिका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । नामावलीमाथि दाबी–विरोधका लागि साँझ ५ बजेदेखि ६ः३० बजेसम्म समय तोकिएको छ ।

अन्तिम मतदाता नामावली

दाबी–विरोधको प्रक्रिया सकिएपछि आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यससँगै निर्वाचनमा सहभागी हुने मतदाताको सूची औपचारिक रूपमा टुंगो लाग्नेछ ।

उम्मेदवारी मनाेनयन भाेली
निर्वाचन तालिकाअनुसार भाेली असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ । भाेली नै अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोध गर्न सकिनेछ भने बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

असोज २२ मा मतदान

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिनभर प्रचारप्रसार गर्न पाइनेछ ।
अन्ततः असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।