नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औं साधारणसभा तथा २६ औं अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नीजि क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताए । उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले यस क्षेत्रका निर्माण पूरा हुन नसकेका विकास योजनाहरु मोतिपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, औद्योगिक प्रदर्शनी स्थल लगायतलाई चाँडो सक्न सरकारको ध्यानआर्कषण गराएको बताईन् ।
यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई व्यापारिक हवका रुपमा विकास गर्न स्थानीय सरकारको तर्फबाट समन्वय र सहकार्य भइरहेको बताइन् । यस्तै कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले भारतीय खुल्ला सिमा, कर तथा राजस्व र लगानी सुरक्षाको बिषयमा सरकारलाई ४२ बुँदे सुझाव दिएको बताए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरीप्रसाद अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा नयाँ र पुरानो पुस्ता जोडेर संस्थागत विकासको काम गरेको बताए । उनले उद्योगी, व्यवसायी, विज्ञहरुसँग छलफल गरी राजस्व, पूर्वाधार विकास र नीतिगत सुधारका कामहरु गरेको बताए । यसका साथै बुटवल उपमहानगरसँग जोडिएका बिषयमा समेत संघका तर्फबाट असल नियतले कामहरु गरेको बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा, बस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारीणी सदस्य कृष्ण कटुवाल, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चिरञ्जिवि सुवेदी, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, महासचिव मुक्ति प्रसाद अधिकारी लगायतले शूभकामना मन्तव्य राखेका थिए ।

साधरणसभाका अवसरमा संघको कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक अध्यक्ष पद्यमचन्द्र श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । उक्त शालिक महासंघका अध्यक्ष श्रेष्ठले अनावरण गरेका हुन् । त्यसैगरी संघले २०४१ सालमा पहिलो पटक प्रकाशन गरेको स्मारिका पुन मुद्रण तथा हाम्रो बुटवल स्मारिका २०८३ को विमोचन समेत गरेको छ ।

बुटवल उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकार पुरस्कार स्व. डायलसन अधिकारी मरोपरान्त प्रदान गरिएको छ । संघमा २०५७ सालदेखि २०७६ सालसम्म सञ्चार समन्वयकर्ताका रुपमा रहि आर्थिक सामाजिक तथा औद्योगिक व्यवसायिक क्षेत्रमा संघले उठान गरेका मुद्धा, नीतिगत पैरवी तथा सार्वजनिक बहसमा ल्याई योगदान गरेवापत स्व. अधिकारीलाई मरोपरान्त पुरस्कारका रुपमा प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक संघका पूर्वअध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले बताए । उक्त पुरस्कार संघको साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्याग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका अध्यक्ष हरिप्रसाद अर्याल, छनौट समितिका संयोजक श्रेष्ठले पत्रकार स्व.अधिकारीको जीवनसंगिनी चन्दा भुसाललाई नगद २५ हजार, सम्मान, दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।
त्यसैगरी संघले विधागत पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकारलाई सम्मान गरेको छ । महिला उद्यमी प्रर्वद्धन लेखनबृति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकमा कार्यरत पत्रकार रेखा भुसाल, नवउद्यमी प्रवद्र्धन लेखन बृद्धि प्रोत्साहन पत्रकारिता पुरस्कारबाट हिमाल प्रेस तथा खस्यौली साप्ताहिकमा कार्यरत पत्रकार विनोद परियार, औद्योगिक विकास प्रवद्र्धन लेखन बृद्धि प्रोत्साहन पत्रकारिता पुरस्कारबाट दैनिक पत्रमा कार्यरत पत्रकार तेजेन्द्र केसी, स्थानीय आर्थिक विकास लेखनबृति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट मेचीकाली तथा लोकान्तर डटकममा कार्यरत पत्रकार प्रकाश आचार्य, पर्यटन प्रवद्र्धन लेखनबृति प्रोत्साहन पत्रकारिता पुरस्काबाट बुटवल एफ तथा बुद्ध परिपथमा कार्यरत पत्रकार सुदीप भण्डारी र बाणिज्य क्षेत्र प्रवद्र्धन लेखनबृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट समतल अनलाईनमा कार्यरत पत्रकार सन्तकुमार श्रेष्ठ सम्मानित भएका हुन् । उनीहरुलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसैगरी संघले विधागत रुपमा ५ जना उद्यमी तथा व्यवसायीलाई सम्मान गरेको छ । संघले उद्योगतर्फ फस्ट च्वाइस फुड्स पब्लिक लिमिटेडका कृष्ण प्रसाद पौडेल, उत्कृष्ट व्यवसायी बाणिज्य तर्फ हैण्डलुम इन्टरप्राईजेजका अजहरुल हसैन, कृषितर्फ शाह ब्रदर्श मल्टिप्रपोज प्रालिका नुरुद्धिन शाह, महिला तर्फ सिद्धार्थ डेरी उद्योगकी गिता भट्टराई र सेवा क्षेत्रबाट महिमा टुर्स एण्ड ट्रावल्स प्रालिका अनिलमान श्रेष्ठलाई सम्मान गरेको छ ।