दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

1.3K

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर उक्त पदमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका एआईजी केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै वर्तमान आईजीपी दानबहादुर कार्की पदबाट हटाइएका छन् । आईजीपीबाट हटाईएका कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको छ । यसअघि पनि सरकारले प्रहरी नेतृत्व परिवर्तन गर्दा बहालवाला आईजीपीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने अभ्यास गरेको थियो ।
अच्युतकृष्ण खरेल आईजीपी रहेका बेला सरकारले उनलाई पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई प्रहरी प्रमुख बनाएको थियो । तर, दरबन्दी नै नभएको ठाउँमा सरुवा गरिएको भन्दै खरेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतबाट मुद्दा जितेपछि उनी पुनः आईजीपीमा फर्किएका थिए । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो ।
त्यस्तै, सुडान घोटाला प्रकरणमा मुछिएपछि तत्कालीन आईजीपी रमेशचन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षक बनाइएको थियो ।