रुपन्देहीको मणिग्राममा सञ्चालन भइरहेको तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेलामा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि खस्यौली रोधी क्लबले जितेको छ ।
तिलाेत्तमा उद्याेग वाणिज्य संघद्वारा सञ्चालित मेलामा आयाेजित प्रतियोगितामा खस्यौली रोधी क्लबका सबिन आचार्य र जमुना सुनारको जोडी विजेता बनेको हो । त्यस्तै सरोज सिंखडा र जमुना विश्वकर्माको जोडी उपविजेता बनेको छ । प्रतियाेगितामा १० टिमले प्रतिस्पर्धा गरेका थिए ।
विजेता जोडीले ७७ हजार ७७७ रुपैयाँ र उपविजेता जोडीले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । दुवै जोडीलाई प्रमाणपत्र र गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको प्रतियोगिता संयोजक, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीकी अध्यक्ष रितु थापाले जानकारी दिइन् ।
प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुरका राजु लामिछाने र रुपन्देहीकी सम्झना खत्री उत्कृष्ट गायक तथा गायिका घोषित भएका छन् । उनीहरूलाई जनही ७ हजार ७७७ रुपैयाँ नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
मेलामा आइतबार रक्तदान कार्यक्रम समेत गरिएकाे छ । मेला स्थलमा आयाेजना तथा रक्तसञ्चार सेवा केन्द्र बुटवलकाे प्राविधिक सहयाेगमा गरिएकाे रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । संघले समाजिक उत्तरदायित्व बहन गरि रम्तदान कार्यक्रम गरिएकाे कार्यक्रम संयाेजक, संघका औषधी बस्तुगत समितिका सभापति रामप्रसाद ढकालले बताए । उनका अनुसार मेलामा नि:शुल्क आँखा परिक्षण शिविर पनि गरिएकाे छ । श्रीकृष्णालय आई केयर सेन्टर एण्ड अप्टिकल्सकाे सहयाेगमा आँखा परिक्षण शिविर गरिएकाे हाे ।
यहि मंसिर ३ गतेदेखि ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि’ भन्ने नारासहित सुरु भएको मेला यहि मंसिरकाे १६ गतेसम्म १४ दिन सञ्चालन हुनेछ । मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ । दर्शकको बढ्दो सहभागिताले मेलाको रौनक थपिएको छ । मेलामा भएको दर्शककाे उल्लेख्य भीडले आयोजकलाई उत्साहित बनाएको मेला आयाेजक मुल समितिका संयाेजक, तिलाेत्तमा उद्याेग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए ।
मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री भइरहेको छ ।
उद्योग, व्यापार र कृषिको प्रवर्द्धनसँगै सीप, उद्यमशीलता र सेवामूलक व्यवसायलाई एउटै थलोमा जोड्ने प्रयास गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीले बताए । उनका अनुसार कृषि तथा पर्यटन क्षेत्रका उत्पादन र गतिविधिलाई मेलामा विशेष प्राथमिकता दिइएको छ ।
मेलामा व्यापारिक गतिविधिसँगै कला, संस्कृति र मनोरञ्जनलाई समेत जोडिएको छ । पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, बालउद्यान, तिलोत्तमा आरती तथा विभिन्न सांस्कृतिक प्रस्तुति भइरहेकाे मेलाका प्रवक्ता तथा संघका महासचिव राजकुमार पाण्डेले बताए । तिलोत्तमाका पर्यटकीय गन्तव्य र नेपाल आरोग्य वर्ष २०२७ को प्रचारप्रसारका लागि पर्यटन ग्यालरीसमेत राखिएको छ ।