एकता सहकारीको ऋण लगानी नीति : लगानी अघिनै काउन्सिलिङ, अनुगमन र बिमा

1.3K

एकता सहकारीको ऋण लगानी नीति : लगानी अघिनै काउन्सिलिङ, अनुगमन र बिमा

बुटवलकाे एकता बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीलाई सुरक्षित, व्यवस्थित र उत्पादनमुखी बनाउन नयाँ नीति ल्याएकाे छ । संस्थाले ऋण प्रवाह गर्नुअघि सदस्यलाई काउन्सिलिङ तथा ऋण शिक्षाको व्यवस्था गर्ने, ऋणीको अवस्था र लगानीको नियमित अनुगमन गर्ने तथा ऋणमा बिमा कार्यक्रम लागू गर्ने गरि ऋण लगानीकाे नयाँ योजना ल्याएकाे हाे ।
संस्थाकाे शनिबार बुटवलमा सम्पन्न २९औँ वार्षिक साधारण सभामा अध्यक्ष बाबुराम श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानीलाई गुणस्तरीय बनाउन सदस्यको आर्थिक अवस्था सुधार गर्ने र लगानी सुरक्षाका लागि याे याेजना ल्याईएकाे बताए । उक्त प्रस्ताव साधारण सभाले पारित गरेकाे छ । संस्थाकाे याे निर्णयसंगै ऋण दिनुअघि ऋणीको आम्दानीको स्रोत, तिर्न सक्ने क्षमता, ऋणको प्रयोजन, धितोको पर्याप्तता र सम्भावित जोखिम विश्लेषण गरी कर्जा प्रवाह गरिने छ ।
व्यावसायिक रूपमा ऋण लिएर उद्यम गर्न चाहने सदस्यलाई प्राथमिकता दिने तथा ऋणको सदुपयोग भए-नभएको अनुगमन गर्ने संस्थाको योजना छ । सदस्यको मृत्युपछि ऋणको भार आश्रित परिवारमा नपरोस् भन्ने उद्देश्यले यसै वर्षदेखि स्वेच्छिक ऋण बिमा कार्यक्रमसमेत लागू गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सहकारीमा पर्याप्त तरलता रहेकाले सदस्यता विस्तारसँगै लगानीका नयाँ क्षेत्र पहिचान गरी ऋण प्रवाह बढाउने नीति पनि संस्थाले लिएको छ । बचत र ऋणको ब्याजदरलाई प्रतिस्पर्धी बनाउन त्रैमासिक समीक्षा गर्ने तथा नियमित कारोबार गर्ने सदस्यलाई ब्याजमा सहुलियत दिन ‘ग्रीन कार्ड’ कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको सहकारीले ऋण असुलीलाई प्रभावकारी बनाउन टेलिफोन, घरदैलो र लिखित ताकेतासहितको अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ । भाखा नाघेका ऋणीलाई कानुनी प्रक्रियामा लैजाने तथा आवश्यकताअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने नीति पनि साधारण सभाले पारित गरेकाे छ ।
सहकारीले सदस्यको सामाजिक सुरक्षालाई समेत प्राथमिकता दिएको छ । सदस्यको दुर्घटना बिमा सुविधालाई दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्‍याइएको छ । सदस्यको मृत्यु तथा जटिल रोगमा सहयोग, सुत्केरी पोषण खर्च, ज्येष्ठ सदस्य सम्मान र शैक्षिक उपलब्धि हासिल गर्ने सदस्यका सन्तानलाई पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिइएकाे छ ।

सहकारीले सदस्यको बचत सुरक्षा, उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी र सामाजिक सुरक्षालाई संस्थागत विकासको मुख्य आधार बनाएको अध्यक्ष श्रेष्ठले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
साधारण सभामा संस्थाकी काेषाध्यक्ष इन्दिराकुमारी ढकालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयाेजक शाेभाखर पाण्डेद्वारा प्रस्तुत लेखा प्रतिवेदन पारित भऐकाे संस्थाका सचिव रमेश पाण्डेले जानकारी दिए ।
कार्यक्रममा बाेल्दै संस्थाकी निवर्तमान अध्यक्ष सावित्रा टण्डन, सल्लाहकार लाेहरि पाण्डे, उपाध्यक्ष सुधिर परमजुली, पूर्वअध्यक्ष राजकुमार श्रेष्ठ, परामर्शदाताहरु नवराज श्रेष्ठ, यमलाल भुसाल, शेयर सदस्य दीपक रायमाझी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभामा शेयर सदस्यका छाेराछाेरीमध्ये कक्षा १२ मा उत्कष्ट अंक ल्याई उतृर्ण भएका २ जना, ७० वर्ष उमेर नाघेका संस्थाका शेयर सदस्यहरु र असल वचतकर्ता तथा असल ऋणी र संथापक तथा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएकाे थियाे । उनीहरुलाई संस्थाका अध्यक्ष बाबुराम श्रेष्ठ र निवर्तमान अध्यक्ष सावित्रा टण्डनले दाेसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए । त्यसैगरि संस्थाकाे रिक्त लेखा सुपरिवेक्षेण समितिकाे सदस्यमा राजन भुसाललाई सर्वसम्मत चयन गरिएकाे छ । हाल संस्थामा १ हजार ३८७ जना शेयर सदस्य रहेका छन् ।