बुटवल, चैत । नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्री विजय कुमार गच्छदारले अहिलेको स्थितीमा सरकार राष्ट्रिय सरकार बनाउन तयार भएको बताएका छन् । उनले संविधान कार्यान्व्यका लागि दलहरु एकै हुनुपर्ने बेला आएकाले यस्तो अवस्थामा राष्ट्रिय सरकार बनाउन सरकार तयार रहेको बताए । पश्चिम नेपाल वस व्यवसायी संघ बुटवलको २१ औ बार्षिक साधारण सभामा बोल्दै गच्छदारले संविधान निर्माणका क्रममा दलहरुमा भएको एकता संविधान कार्यान्वयनका लागि पनि एकता हुनुपर्ने बताए । उनले अब राजनितीक आन्दोलन छाडेर देशलाई समृद्धि र विकास तर्फ अगाडि बढाउन संविधान कार्यान्वयन हुनुपर्ने भन्दै संविधान माथी टेकेर जनताको चाहाना पुरा गर्ने बेला आएको बताए । उनले भने–“अब नेपाली जनता राष्ट्रको उन्नती होस भन्ने चाहन्छन्, त्यसका लागि राजनितीक एकता जरुरी छ, जसका कारण राजनितिक संकट पनि हटेछ र नेपाललाई पुनः निर्माण तर्फ अगाडि बढाउन सकिन्छ ।” सरकार उपप्रधानमन्त्री समेत रहेको गच्छदारले संविधान बनाउने क्रममा भएको राजनितीक एकता अहिले अप्ठ्यारोमा परेकाले अहिले सहमतिको आवश्यकता रहेको बताए । उनले भने–“सरकार र प्रतिपक्ष सहमतिमा उभिनुपर्छ,तब मात्र संविधान कार्यान्वयन हुन्छ, यदि सहमती भएन भने फेरी द्वन्द्व सिर्जना पनि हुन सक्छ ।” उनले सरकारले यातायातमा गरेको दर्ता नविकरण नगरी खारेज गर्ने नितीका बारेमा आफुलाई केही थाहा नभएकाले त्यसो काम सरकारले नगर्ने बताए । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं. ३ का सभासद् बालकृष्ण खाँडले अहिलेको सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाए । उनले मदेश आन्दोलन, कालो बजारी, संविधान कार्यान्वयन केही गर्न नसकेको आरोप लगाए । उनले सरकारले अहिले स–साना कामलाई प्राथमिकतामा राख्नु भन्दा संविधान कार्यान्वयन तर्फ जोड दिन आग्रह गरे । उनले भने–“सरकारले काम गर्ने बेलामा यतिकै बसेमा सरकारको दिन गन्ती सुरु हुन्छ, ओलीको उखान टुक्काले देश चल्दैन ।“ त्यसैगरी नेपाल राष्ट्रिय यातायात महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष डोलनाथ खनालले यातयात क्षेत्रमा देखिएको अव्यवस्थलाई हटाउन केन्द्र देखि जिल्ला तह सम्म कार्यदल बनाउनुपर्नेमा जोड दिए । उनले यातयातलाई सुधार गर्न नितिगत सुधारको आवश्यकता रहेको भन्दै रुट निर्माण गर्नुपर्ने बताए । ट्रक व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले भारतिय ट्रकहरुलाई नेपाल प्रवेश निती खारेज गर्न माग गरे । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, संघका पुर्व अध्यक्ष चोपनारयाण श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर के.सी लगाएतले शुभकामना मन्तव्य राखेकाा थिए । संघका अध्यक्ष दधिराम खरेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष नारायण घिमिरेको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महासचिव जीवनकुमार बञ्जाडेले गरेका थिए । पश्चिम नेपाल वस व्यवसायी संघ बुटवलले हरेक बर्ष वितरण गर्ने यातायात संवाहक पत्रकारिता पुरस्कार बाट यस बर्ष पत्रकार विश्वास ढकाल पुरस्कृत भएका छन् ।