रामका जीवनबाट सिक्नुपर्ने शिक्षा-ध्रुवशरण ढुङ्गाना

1K

रामका जीवनबाट सिक्नुपर्ने शिक्षा-ध्रुवशरण ढुङ्गाना

dhurba sharan dhunganaचैत्र महिनाको शुक्लपक्ष नवमीका दिन मनाइने पर्वलाई रामनवमी भनिन्छ । हाम्रो नेपालमा पनि सनातन धर्मावलम्बी राम मन्दिरमा गई भगवान रामको पुजा आजा गरि रामनवमी धुमधामका मनाउने गर्दछन् । रामनवमीमा जनकपुर धाममा मेला पनि लाग्ने गर्दछ भने यो अवसर पारेर श्रद्धालुहरु जनकपुर आउने गर्दछन् । रामनवमीको दिन ब्रत बस्ने सीतारामको पूजा गर्ने गरिन्छ । रामको पूजा र भक्तिले व्यक्तिमा सत्चरित्र र आदर्शको विकास हुने तथा पति पत्नीबीचको सम्बन्ध र प्रेममा मधुरता आउने मानिन्छ । रामको जन्म अयोध्यामा भएको थियो । राजा दशरथकी जेठीरानी कौशल्याको कोखबाट जेठो छोराको रुपमा चैत्रशुक्ल नवमी कर्कलग्नको बेलामा भएको थियो ।

चैत्रे मासि नवम्यां तु शुक्लपक्षे रघूत्तमः
त्रेतायुगमा जन्मीएका श्रीरामलाई भगवान विष्णुको सप्तम अवतार मानिन्छ । मर्यादाका पालक रामको जन्म सम्पूर्ण जगत्लाई आनन्द दिनकोलागि मध्यान्ह बाह्रबजेको समयमा भएको थियो भन्ने कुरा तुलसीदासले उल्लेख गर्नुभएको छ ।
रामको जन्मले अयोध्याका राजा र प्रजामात्रै होइन प्रकृति पनि प्रशन्न भएको मानिन्छ । वाल्यकालदेखि नै राम पितृ भक्त मातृ भक्त हुनुहुन्थ्यो । रामका वाललिलाहरुले अहिलेका वालकहरुलाई बृद्धि बिकासकोलागि शिक्षा दिने गर्दछ । वाल्यकालमा नै गुरु बिश्वामित्रको साथमा जंगलमा गई दुष्ट शक्तिको संहार गरि ऋषिहरुको यज्ञलाइ सफल पारेको कुरा रामायणमा उल्लेख गरिएको छ । राम अवतारको प्रमुख प्रयोजन भनेको पृथ्वीको भार हरण गर्न र आफ्ना भक्तहरुको कृपाकोलागि भएको हो । आपत विपद् पर्दा धैर्य रहने शक्ति भएका भगवान रामले रावणको अत्याचारबाट समाजलाई मुक्ति दिलाईदिए तर आफूले जितेको लङ्काको राज्यलाई कहिल्यै पनि स्वीकारेनन् । बरु रावणकै भाई विभिषणलाई राजा बनाई दिएकोले उनको सत्ता प्रतिको मोह पटक्कै देखिएको छैन । उनको चरित्रबाट हामीले सिक्नुपर्ने धेरै शिक्षाहरु छन् । रामले जुन सन्देशहरु दिएका थिए त्यसको पालना गर्न सके व्यक्ति सधै आनन्दित जीवन जिउन सक्छ । रामको कथा मात्रै पढ्ने तर देखाएको मार्ग र आदर्श ध्यान नदिएका करण मानिसले आफ्नो कर्तव्य बोध गर्न सकिरहेको छैनन् । रामले माता पिताको आज्ञा मानेर राज्य त्यागि चौध बर्षसम्म बनबासको जीवन बिताएका थिए । यो चरित्रले अहिले आफ्ना बृद्ध भएका बाबुआमालाई बृद्धाआश्रममा पु¥याउने सन्तानलाई धिक्कारी रहेको छ । रामले शासकमा हुनुपर्ने गुण पनि देखाईदिएका छन् । आज पनि लोक कल्याणकारी राज्य व्यवस्था, सुशासान, सुव्यवस्थालाई रामराज्य भन्ने गरिन्छ । प्रभु राममा प्रजावत्सलता, देशभक्ति, सहिष्णुता, पितृभक्ति, मातृभक्ति, भ्रातृप्रेम, पत्नीव्रता, नैतिकता, वीरता, क्षमाशीलता आदिका आदर्श रहेका थिए । रामले सामाजिक मर्यादाको लागि सर्वसाधारण जनताका कुरालाई पनि सुन्ने गर्दथे । एउटा धोबीको वचनलाई सुनेर आदर्शको लगि आफ्नी पत्नीलाई समेत केही समय त्यागिदिए । आजको समयमा जनताका नाममा जनअधिकरका कुरा गर्ने नेताहरुले बुझेका छन् त जनभावना ? सोही कारण हाम्रा शासक वर्गलाई आज रामको आदर्श र चरित्रको खाँचो रहेको देखिन्छ । आजको समयमा कुनै पनि देश जनताको नैतिक, सामाजिक, आर्थिक, शैक्षिक, उत्थान पतनमा त्यो देशको राजनीतिको अहम् भुमिका रहेको हुन्छ । राजनीतिको लक्ष्य नै जनतालाई सम्पन्न सन्तुष्ट खुसी गराउने हो । राम राजा भएर पनि सम्पुर्ण प्रजाहरुको सेवक अफुलाइ ठान्ने गर्दथे उनले आफ्नो जीवन जनताको कल्याणको लागि समर्पित गरेका थिए । राम राज्यमा कतै भोकमरी, अकाल मृत्यु आदि कष्टहरु कतै देखिँदैनथे । आफ्ना जनतालाई जसरी एउटा पिताले पुत्रलाइ दिने स्नेह, सुरक्षा र बात्सल्यता प्रदान गर्ने गर्दथे भनी रामायणमा उल्लेख पाईन्छ ।

न व्याधिजं भयं चासीद्रामे राज्यं प्रशासति ।
औरसानिव रामोऽपि जुगोप पितृवत् प्रजा ।।

अहिलेको समयमा राजनीति केवल नीजि स्वार्थ मात्रै भरिएको छ । सोही कारण पनि जनताका मनोभावनालाई शासकले जान्न, बुझ्न सकिरहेका छैनन् । अहिलेको समाजमा रामको जस्तो अदर्श र राजनीतिको खाचो छ । रामको चरित्रले सम्पुर्ण शासकलाई सुशासन गर्नु पर्छ भन्ने शिक्षा पनि दिइरहेको छ ।
रामनवमीलाई वर्षको अन्तिम चाडको रुपमा पनि लिईन्छ । रामनवमीको पर्वलाई मनाउँदै गर्दा हामीले प्रभु श्रीरामका आदर्श र चरित्रलाई आफ्नो जीवनमा उतार्न सकियो भने असली राम नवमीको अर्थ हुनेछ ।